फाइल तस्बिर
काठमाडौं– बाढी वा पहिरोका कारण अवरुद्ध भएका १३१ सडक अझै पूर्णरूपले सञ्चालन हुन सकेका छैनन्। तत्काल एकातर्फको अवरोध हटाएर चालु गरिएकामा आगामी दिनमा दुवै तर्फबाट चालु हुने गरी निर्माण गरिने सडक विभागले जनाएको छ।
यो वर्ष वर्षाका कारण २२६ सडक अवरुद्ध भएका थिए। तीमध्ये अहिले ९५ सडक दुवैतर्फ र १३१ सडक एकातर्फबाट सञ्चालनमा छन्।
सडक अवरुद्ध हुँदा त्यहाँको जनजीवन नै प्रभावित हुने भएकाले एकातर्फी खुलाउनु पहिलो प्राथमिकता हुने विभागको भनाइ छ।
अहिले एकातर्फबाट मात्रै सञ्चालनमा रहेका सडकमा ‘स्पेसिफिक’ काम गर्नुपर्ने भएकाले त्यो काम ठेक्का लगाएर सम्बन्धित डिभिजन सडक कार्यालयले गर्ने विभागले जनाएको छ। विभागलाई सडक पूरै अवरुद्ध हुँदा एकतर्फी खोल्न चाप हुने तर एकातर्फ खुलेपछि पैदल यात्रु र सवारीसाधन आवत जावत गर्न सक्ने भएकाले फुर्सदमा गर्न सकिने विभागको भनाइ छ।
विगतका वर्षभन्दा यो वर्ष वर्षाका कारण धेरै सडक बिग्रिएको विभागको भनाइ छ। यो वर्ष लामो समय भारी वर्षाका कारण सडकमा बढी क्षति पुगेको हो। क्षति पुगेकामध्ये अहिले कुनै पनि सडक ठप्प नै नरहेको विभागले जनाएको छ।
असारदेखि नै अवरुद्ध रहेको लमजुङको बेँसीशहरदेखि मनाङको चामेसम्मको सडक केही दिन पहिलेदेखि सञ्चालनमा छ। यो वर्ष बेँसीशहर–चामे, अरनिको राजमार्ग, गल्छी–त्रिशूली–मैलुङ्ग–स्याफ्रुबेँसी–रसुवागढी सडकमा बढी क्षति पुगेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।