काठमाडौं– नेपालीहरुको महान् चाड बडादशैंमा बन्द भएका कार्यालयहरु खुलेसँगै काठमाडौं उपत्यकामा विस्तारै चहलपहल बढ्न थालेको छ।
राजधानी काठमाडौं उपत्यकासहित देशभरका सरकारी तथा निजी कार्यालय खुलेपछि चहलपहल बढेको हो। काठमाडौं उपत्यकामा सवारी साधनको चापसमेत केही बढेको छ। दशैंमा सुनसान प्रायःबनेको काठमाडौंमा नियमितजसो सबै प्रकारका सेवा सञ्चालनमा आएका छन्।
दशैंको टीकाको चौथो दिन आज पनि आफन्त तथा मान्यजनबाट टीका र जमरा लगाई आशीर्वाद लिनेक्रम जारी छ। टीका लगाउन जानेहरुको चहलपहलले पनि उपत्यकामा चहलपहल बढेको हो। विजयादशमीको टीकाको दिनदेखि कोजाग्रत पूर्णिमासम्म दशैँको टीका लगाउने चलन छ।
काठमाडौँ उपत्यकामा पनि दसैँको टीका लगाउन आफन्त तथा मान्यजनकहाँ पुग्ने सर्वसाधरणको आवतजावत बाक्लोरूपमा देखिएको छ। उपत्यकामा औषधि, खाद्यान्न, दूध तथा तरकारीका पसल खुलेका छन्। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आज पनि काठमाडौँ उपत्यकामा दसैँको टीका र आशीर्वाद थाप्न जानेको चहलपहल बाक्लै छ । चहलपहल बढे पनि ट्राफिक जाम छैन।
दशैं मनाउन गाउँघर गएकाहरु पनि धमाधम काठमाडौं भित्रिरहेका छन्। कोटेश्वर, कलङ्की, गोङ्गबु, बल्खुलगायत नाकामा दशैँ मनाएर राजधानी फर्कनेको भिडभाड देखिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।