फाइल तस्बिर
काठमाडौं- सरकारले मुगु बस दुर्घटनामा परी मृत्यु भएका ३२ जनाको परिवारलाई आर्थिक सहायता दिने घोषणा गरेको छ।
गृह मन्त्रालयले आइतबार विज्ञप्ति जारी गरी मृतकका परिवारलाई प्रतिमृतक किरिया खर्च २५ हजार रुपैयाँ र आर्थिक सहायता एक लाख रुपैयाँ गरी एक लाख २५ हजार रुपैयाँ उपलब्ध गराउने जानकारी दिएको हो।
मन्त्रालयले मृतकका परिवारका लागि आर्थिक सहायता तथा घाइतेहरुको उपचार खर्चबापतको रकम भुक्तानीको व्यवस्था मिलाउने गरी प्रक्रिया थालिएको विज्ञप्तिमा उल्लेख छ।
यही असोज २६ गते नेपालगञ्जबाट मुगुको गमगढीतर्फ गइरहेको भे १ ख ३१६७ नम्बरको बस मुगुको छायाँनाथ नगरपालिका-७ तपने खोलामा दुर्घटना भएको थियो। उक्त दुर्घटनामा परी २८ जनाको घटनास्थलमै र चार जनाको उपचारका क्रममा मृत्यु भएको थियो।
यसैबीच, मन्त्रालयले सुनसरी, कैलाली र पर्वतको कारागारमा भएका मृत्युका घट्नाहरुबारे छानविन गर्न समिति गठन गरेको छ। उक्त घटनाहरुको बारेमा छानविन गर्न तथा कारागार व्यवस्थापनमा गर्नुपर्ने सुधारका सम्बन्धमा सुझाव पेस गर्न मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा छानविन समिति गठन गरिएको मन्त्रालयले जानकारी दिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।