काठमाडौं- गृहमन्त्री बालकृष्ण खाणले २४ असोजमा सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका निवासी मोहम्मद हकीम साहको जिल्ला प्रहरी कार्यालय सुनसरीको बन्दीगृहमा भएको मृत्यु प्रकरणबारे तथ्य बाहिर ल्याउन र दोषीलाई कारबाही गर्न आफू प्रतिबद्ध रहेको बताएका छन्।
आइतबार गृह मन्त्रालयमा मुस्लिमसँग सम्बन्धित संघसंस्थाका प्रतिनिधिहरूले बुझाएको ज्ञापनपत्र बुझ्दै मन्त्री खाणले सरकार नागरिकको जीवनरक्षा गर्न लागिपरेको बताए। उनले सामाजिक सद्भाव कायम राख्दै तथ्यबाहिर ल्याउन सरकार र आफू संवेदनशील रहेको बताए।
उनले थुनामा रहेका व्यक्ति मात्रै होइन, बाहिर रहेका व्यक्रिको पनि ज्यान जान नहुने बताए। सबै नागरिक आफ्नो धर्म, संस्कृति अवलम्बन गर्न स्वतन्त्र रहेको उनले बताए। सरकारको पहिलो दायित्व नागरिकको जीवनरक्षा भन्दै त्यसमा आफू प्रतिबद्ध रहेको उनले बताए।
ज्ञापनपत्रमा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित छानबिन समितिलाई भंग गरी उच्च अदालतका न्यायाधीशको संयोजकत्वमा मानवअधिकारकर्मी, सीआईबीका प्रमुख, कानुनविज्ञ, विधि विज्ञान प्रयोगशालाका विज्ञ र नागरिक समाजका प्रतिनिधि सम्मिलित गराउन माग गरिएको छ।
त्यसबारे गृहमन्त्री खाणले सरकारले उच्च अदालतका न्यायाधीशको नेतृत्वमा छानबिन समिति सीधै बनाउन नसक्ने र न्यायपालिकाको अनुमति माग्नुपर्ने बताएका थिए। त्यसो गर्दा छानबिन गर्न ढिला हुने भन्दै अर्को समिति बनाउने या स्थानीयले विश्वास गर्नेगरी अहिलेको छानबिन समितिका सदस्यहरूलाई फेरबदल गर्ने विषयमा कुराकानी भएको थियो।
रानी शर्मासँग लामो समयसम्म प्रेम सम्बन्धमा रहेका साहलाई शर्माका बुबा विष्णु शर्मा खत्वेको मिलेमतोमा हत्या भएको आशंका स्थानीयको छ। उनीहरूले पछिल्लो समय रानीले सामाजिक सञ्जालमा लेखेका धारणाले पनि त्यो देखाउने भन्दै उनलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान गर्न माग गरेका छन्।
ज्ञापनपत्र बुझाउन इस्लामी संघका अध्यक्ष खुर्शिद आलम, नेपाल मुस्लिम संघका महासचिव रहमतुल्ला मियाँ, राष्ट्रिय मानवअधिकार आयोगकी पूर्वसदस्य मोहना अन्सारीसहित ११ जना मन्त्रालयमा आएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।