काठमाडौं – काठमाडौं उपत्यकासहित बागमती प्रदेश र प्रदेश १ र २ मा अहिले सामान्य वर्षा भइरहेको छ। उपत्यकामा बिहानैदेखि पानी पर्न सुरु भएको छ। केहीबेर पानी पर्न रोकिए पनि दिउँसो पुनः पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार आज सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ।
भारतको उडिसा आसपासका क्षेत्रमा बनेको न्यून चापीय प्रणाली र पश्चिमी वायुको प्रभावका कारण केही दिन देशभर नै वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशमा सामान्य वदली रहेको छ। गण्डकी र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य वदली रही अन्य प्रदेशमा आंशिक बदली रहेको छ ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षको सम्भावना रहेको छ । कर्णाली प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
आज राति देशभर सामान्य बदली रहनेछ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।