काठमाडौं- भारतीय सेनाको गोरखा रेजिमेन्ट पाँचौं गोरखा राइफल्सका एक अधिकारीको जीवनमा आधारित फिल्म ‘गोरखा’को पोस्टर सार्वजनिक भएको छ। बलिउड अभिनेता अक्षय कुमार प्रमुख भूमिकामा रहेको फिल्मको पोस्टर अभिनेता कुमारले ट्विटरमार्फत् सार्वजनिक गरेका हुन्।
फिल्म गोरखा राइफल्सका अधिकारी मेजर जनरल इयान कार्डोजोको जीवनमा आधारित रहेर निर्माण भएको छ। फिल्मलाई भारतीय राष्ट्रिय पुरस्कार विजेता निर्देशक सञ्जय पूरन सिंह चौहानले गरेका छन् भने फिल्मलाई चौहान र निरज यादवले संयुक्त रुपमा लेखेका छन्। फिल्मलाई हिमांशु शर्मा र आनन्द एल रायले संयुक्त रुपमा निर्माण गरेका छन्।
फिल्मको पोस्टरको 'फस्ट लुक' सार्वजनिक गर्दै अक्षयले ट्विट गरेका छन्, ‘कहिलेकाहीँ तपाईंको सामु यस्ता प्रेरणावादी कथाहरु आउँछन्, तपाईं यसलाई सिनेमा बनाउन चाहनुहुन्छ। गोरखा- महान युद्ध नायक मेजर जनरल इयान कार्डोजोको जीवनमा आधारित यस्तै फिल्म हो।’
अक्षयले आफू फिल्ममा अभिनय गर्न र कार्डोजोको भूमिकामामा देखिन पाउँदा अत्यन्तै खुसी भएको पनि उल्लेख गरेका छन्।
इयान कार्डोजो सन् १९६२, १९६५ र १९७१ मा भारत पाकिस्तान युद्धमा सामेल थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।