दुई दशकअघि अमेरिकी फिल्म निर्देशक मार्टिक म्याकडोनागले अमेरिकाको कुनै दुर्गम ठाउँको राजमार्गमा तीन वटा खाली ‘बिलबोर्ड’ देखेका थिए। ती बिलबोर्ड केही व्यक्तिले न्याय नपाएको आक्रोशमा राखेका थिए। बिलबोर्डले म्याकडोनागलाई प्रभावित गरे।
दुई दशकपछि उनले तिनै बिलबोर्डसँग जोडिएको कथामा आधारित फिल्म बनाए। त्यो फिल्म थियो, सन् २०१७ मा प्रदर्शनमा आएको ‘थ्रि बिल बोर्ड आउटसाइड एबिङ, मिजोरी।’
म्याकडोनागको यो फिल्म बलात्कृत छोरीको मृत्युमा भएको फितलो अनुसन्धान र न्याय नपाएको आक्रोशको सरल कथामा आधारित छ। कथा सामान्य र सरल छ, तर प्रस्तुति बेजोड छ। फिल्ममा छोरी गुमाएकी आमाले न्यायको निम्ति लिएको बिलबोर्डको सहारालाई देखाइएको छ।
उनले छोरी गुमाएको सात महिना भइसकेको हुन्छ। तर, प्रहरीले गरिरहेको अनुसन्धानप्रति मिल्ड्रेड हायेस (अभिनय : फ्रान्सिस म्याकडोरम्याण्ड) खुसी छैनन्। मिल्ड्रेडकी छोरी एन्जिलालाई बलात्कार गरेर हत्या गरेपछि जलाइएको थियो। छोरीको हत्यामा प्रहरीले उचित र आवश्यक अनुसन्धान नगरेको पीडामा छिन्। उनले न्याय प्राप्तिका लागि अपनाएको शैली नै फिल्मको प्रमुख आकर्षण हो।
मिल्ड्रेड अस्वस्थ परिस्थितिहरुमा बाँचिरहेकी हुन्छिन्। उनी शहरको मुख्य चोकमा भएका प्रहरीसँग आक्रोशित छिन्। ती प्रहरी अल्छी छन्। रंगभेदी छन्। प्रहरीमा हुुनुपर्ने गुण र गर्नुपर्ने कामबाहेक उनीहरु अरु सबै गरिरहेका छन्। गलत कानुनी व्यवस्था र त्यसलाई पालना गराउनुपर्ने निकायसँगको असन्तुष्टिबीच मिल्ड्रेडले अपनाएको विरोधको शैलीमा फिल्म घुमेको छ।
अमेरिकाको कुनै सुदूर ठाउँमा उनी न्यायका लागि प्रहरीको ढोका ढक्ढक्याउँदा पनि बेवास्ता गरिएपछि उनले विरोधको नयाँ शैली अपनाउँछिन्। उनले गाउँको मूल सडकमा रहेका तीन वटा बिलबोर्ड एक वर्षका लागि भाडामा लिन्छिन्। व्यावसायिक प्रयोजनका लागि विज्ञापन गरिने बिलबोर्ड मिल्ड्रेडको लागि न्याय प्राप्तिको साधन बन्छ। ती बिलबोर्डमा उनी नारा लेख्छिन्। तिनमा क्रमशः लेखिएको छ– ‘बलात्कार गर्दा मृत्यु’, ‘अझैं गिरफ्तारी छैन?’, ‘कसरी, प्रमुख विलोबी?’ बिल विलोबी त्यहाँका प्रहरी प्रमुख हुन्।
यो कदमलाई लिएर पूरै मिजोरी शहर नै उनीविरुद्ध लाग्छ। उनले अपनाएको शैलीलाई कसैले पनि मन पराउँदैन। आफूविरुद्ध प्रहरीसहित सारा मानिस उभिँदा पनि मिल्ड्रेड एक्लै संघर्ष जारी राख्छिन्। उनले न्याय पाउँछिन् कि पाउँदिनन्, कस्ता अप्ठ्यारा भोग्छिन् भन्ने कथालाई फिल्ममा सुन्दर ढंगले प्रस्तुत गरिएको छ।
रंगभेदी चरित्रविरुद्ध फिल्म
‘मलाई लाग्छ हाम्रो प्रहरी प्रसाशन वास्तविक अपराधको अनुसन्धान गर्नुको सट्टा काला जातिमाथि दमन गरेर बसिरहेको छ।’ एक टेलिभिजन अन्तर्वातामा मिल्ड्रेडले भनेकी छिन्।
आफ्नी छोरीको बलात्कार र हत्या हुँदा पनि विलोबीले कसैलाई पक्राउ नगर्दा उनको आक्रोशको पारो निकै चढेको छ। त्यसैले बिलबोर्डमा विलोबीलाई प्रश्न गरेकी छिन्।
विलोबीका सबैभन्दा ठूला समर्थक जोसन डिक्सन हुन्छन्, जो गोरा जातिका प्रहरी हुन्। उनी रंगभेदी छन्। उनले हिरासतमा कालो जातीको मानिसलाई दुर्व्यवहार गरेका हुन्छन्। महिलामाथि हात उठाउनुअघि उनी त्यसबारे एक पटक पनि सोच्दैनन्।
फिल्मको एक दृश्यमा अनुसन्धानका लागि बोलाइएकी मिल्ड्रेडलाई डिक्सनले सोधपुछ गर्छन्। त्यही क्रममा मिल्ड्रेडले डिक्सनलाई रंगभेदी भएको आरोप लगाउँछिन्। डिक्सन त्यसको खण्डनमा उत्रिदैन। बरु आक्रोश पोख्छ। प्रहरी प्रमुख विलोबी आएपछि डिक्सनलाई कोठा बाहिर पठाइन्छ। डिक्सन अनुपस्थित भएपछि विलोबी भन्छन्, ‘रंगभेदी सोच भएका प्रहरीहरुलाई हटाउने हो भने हामीलाई आवश्यक प्रहरी जनशक्तीकै अभाव हुन्छ।’
प्रहरी प्रमुख विलोबी क्यान्सरका कारण आफ्नो जीवनको अन्तिम दिन गनिरहेका हुन्छन्। आफ्नो परिवारलाई पीडा हुने सोचले आफैंलाई गोली हानी आत्महत्या गर्छन्। तर, उनको मृत्युको कारण भने मिल्ड्रेडको बिलबोर्डलाई देखाइन्छ। जबकि, विलोबीले आफ्नो कारण परिवारलाई हुने पीडा सहन नसक्ने भएकाले आत्महत्या गर्न पुगेका हुन्छन्, जुन कुरा उनकी पत्नी, मिल्ड्रेड र डिक्सन तीनै जनालाई लेखेको फरक–फरक चिठ्ठीमा स्पष्ट हुन्छ।
तर, डिक्सनले भने आफ्नो प्रहरी प्रमुखको मृत्युको कारण मिल्ड्रेडको बिलबोर्डमा उनको नाम उल्लेख गर्नुलाई नै ठान्छन्। त्यसैले बिलबोर्डको व्यवस्थापन गरिरहेको विज्ञापन एजेन्सीका मालिकलाई निर्मम रुपमा कुटपिट गर्छन्। डिक्सनमा आफ्नो आक्रोश नियन्त्रण गर्ने क्षमता हुँदैन। उनको आक्रोशमा विभेदकारी सोच स्पष्टै हुन्छ।
फिल्ममा अर्को एक दृश्य छ, जहाँ विलोबीको मृत्युपछि उनलाई प्रतिस्थापन गर्न प्रहरी प्रमुख एबरक्रोम्बाई आउँछन्। उनी काला जातिका हुन्छन्। तर, डिक्सनले उनीप्रति गर्ने व्यवहार विभेदकारी हुन्छ। कालाजातिको प्रहरी कसरी प्रमुखको पदमा पुग्छ भन्ने प्रश्न गर्छन्। एबरक्रोम्बाईले झुट बोलिरहेको भन्दै मजाक बनाउँछन्। एबरक्रोम्बाईले डिक्सनको रंगभेदी र विभेदकारी व्यवहारका कारण उनलाई जागिरबाट निकालिदिन्छन्।
२५ मे २०२० मा अमेरिकाको मिनिसोटा राज्यस्थित मिनेपोलिस शहरमा प्रहरीको दमनबाट जर्ज फ्लोयडको मृत्यु भएको थियो। हत्कडी लगाइएका फ्लोयडलाई शहरको बीचमा गोरा जातिका प्रहरी अधिकारी डेरिक चौभिनले घुँडाले थिचेर मारेका थिए। फ्लोयडमाथि २० डलरको नक्कली नोट प्रयोग गरेको आरोप थियो। डेरिकले उनको घाँटीमा घुँडाले थिचिरहँदा उनले ‘मैले सास फेर्न सकिनँ’ भनिरहेका थिए। फ्लोयडको मृत्युपछि अमेरिकामा रंगभेदविरुद्ध अभियान नै चल्यो। प्रहरी प्रशासनको विरोध भयो।
अमेरिकी प्रशासनकै अनुसन्धानकाअनुसार प्रहरीको व्यवहारका कारण वर्षेनी मृत्यु हुने हजार नागरिकमध्येमा काला जातीका मानिस गोराभन्दा २.५ प्रतिशतले धेरै हुन्छ। अमेरिकी प्रहरीले गोरा जातिमाथि गोली चलाउनुअघि ‘दुई पटक सोच्ने’ भए पनि काला जातिमाथि ‘एक पटक पनि नसोच्ने’ अनुसन्धानले देखाएको छ।
‘थ्रि बिल बोर्ड आउटसाइड एबिङ, मिजोरी’मा प्रस्तुत दृश्यहरु र संवादले अमेरिकी प्रहरीले वास्तविक रुपमा गर्ने विभेदलाई उधाङ्गो पारेको छ। सिनेमामा काल्पिनकता हुन्छ, तर यर्थाथको आडमा। यो फिल्ममा पनि निर्देशक म्याकडोनागले यथार्थलाई संवाद र दृश्यहरुमार्फत सम्बोधन गरेका छन्।
शोकले जन्मिएको प्रतिवाद
शोक गहन भावना हो। यसको असर मनोवैज्ञानिक, भावनात्मक र शारीरिक रुपमा परेको हुन्छ। शोकले प्रतिवाद र प्रतिरोध जन्माउँछ। शोकले शान्त हुन पनि सिकाउँछ।
मिल्ड्रेड, जो आफ्नी छोरीको हत्यालाई लिएर शोकमा छिन्, शान्त छिन्। विरोधको नौलो शैली अपनाएर न्यायको खोजीमा तत्पर छिन्। यसो गर्दा उनकै छोरा रोबी पनि उनको विरोधमा उभिएको छ।
मिल्ड्रेड, जो आफ्नी छोरीको हत्यालाई लिएर शोकमा छिन्, शान्त छिन्। विरोधको नौलो शैली अपनाएर न्यायको खोजीमा तत्पर छिन्। यसो गर्दा उनकै छोरा रोबी पनि उनको विरोधमा उभिएको छ। रोबीको तर्क छ– एन्जिलाको मृत्युको घटना एक पटक मात्र भएको थियो। तर, ठूला बिलबोर्डमा उसको बलात्कार र हत्या भएको लेखेर त्यो घटना पटक–पटक सम्झाउन खोजेकी छिन्, मिल्ड्रेडले।
आफू असहज भएपछि रोबी आमाले चालेको कदमबाट एन्जिलाले न्याय पाउने पो हो कि भन्नेमा आशावादी छ। ऊ आमाको कदमले क्रोधित छ, तर शान्त छ। उसमा आफ्नी बहिनीको हत्याको प्रतिशोध पनि छ। न आमाको कदमको प्रतिवाद गर्छ, न शहरमा आमाविरुद्ध उठेको आवाजको प्रतिवाद गर्नसक्छ। तर, आफ्नी बहिनीले न्याय पाओस् भन्ने चाहना पनि राख्छ।
मिल्ड्रेड आफ्नो विरोधको कार्यबाहेकका विषयमा आक्रोश पोख्छिन्। आफ्नी साथीलाई पक्राउ गरिदाँ होस् वा विज्ञापन एजेन्सीको मालिकमाथि हातपात हुँदा, प्रहरीविरुद्ध उनको आक्रोश बाहिर आउँछ। जब छोरीको मृत्युको विषय आउँछ, उनी शान्तसँग प्रतिवाद गर्छिन्।
समयसँगै प्रतिवाद प्रतिरोधमा बदलिन्छ। प्रहरीको व्यवहारसँग क्रोधित छिन्। त्यो क्रोधले कुनै झगडा वा आन्दोलनको रुप नलिएर सांकेतिक विराधको रुप लिएको छ।
बिम्बात्मक प्रस्तुति
फिल्मको सुरुवातमा राजमार्गको किनारमा रहेका बिलबोर्डहरुलाई देखाइन्छ। सिनेमाको सुरुवातदेखि अन्त्यसम्म कथालाई डोहोर्याउन बिलबोर्डले नै सघाउँछ। यसलाई देखाउन सुरुवातमा स्टिल सटमार्फत मोन्टाज देखाइएको छ।
फिल्ममा बिम्बात्मक दृश्य धेरै छन्।, जसले मिल्ड्रेडले न्याय पाउन गरिरहेको संघर्षलाई देखाएका छन्।
एक दृश्यमा मिल्ड्रेड तीन बिलबोर्ड सामुन्ने फूलका गमला राखिरहेकी हुन्छिन्। त्यत्तिकैमा एउटा हरिण आइपुग्छ। अमेरिकी मिथअनुसार हरिणले दृढता देखाउँछ। बिलबोर्डको खरिद गर्दादेखि मिल्ड्रेडले धेरै अप्ठ्याराको सामना गर्छिन्। तर, पनि उनी निरन्तर हत्याराको खोजीमा लागिरहेकी हुन्छिन्। यसैको बिम्ब हो, हरिण।
फिल्ममा अर्को एक दृश्य छ, जहाँ मिल्ड्रेडले भाडामा लिएका तीनै वटा बिलबोर्डमा आगो लाग्छ। आगो रिससँग जोडिन्छ, आवेगको संकेतको रुपमा देखाइएको छ। फिल्ममा बिलबोर्डमा लागेको आगोले मिल्ड्रेडको संघर्ष खतरामा परेको देखाउँछ। आफ्नो बिलबोर्ड जलेपछि मिल्ड्रेड झन आक्रोशमा हुन्छिन्। उनको आक्रोशले उनलाई न्याय पाउन अझै दृढ बनाउँछ।
अर्को दृश्यमा प्रहरी कार्यालयमा मिल्ड्रेडले आगो लगाइदिन्छन्। कार्यालयभित्र जागिरबाट निकालिएको डिक्सन हुन्छ। विलोबीको चिठ्ठी पढेर आफ्नो अस्तित्वमाथि प्रश्न गरिरहको डिक्सन कार्यालयभित्रै हुँदा आगो लाग्छ। आफूमाथि भएको व्यवहारमो बदला लिन मिल्ड्रेडले आगो लगाएकी हुन्छिन्।
आगो लागेको देख्नसाथ डिक्सन एन्जिलाको मुद्दाको फाइल बोकेर बाहिर निस्किन्छ। आगोको लप्कासँग जुँधिरहेको डिक्सन आफ्नो शरिरभन्दा फाइललाई बचाउनतर्फ ध्यान दिन्छ।
यो दृश्यमा डिक्सनलाई विलोबीका अन्तिम सुझावहरुले सही बाटोमा हिँडन प्रोत्साहित गरेको संकेत गरेको छ। प्रहरी कार्यालयमा आगो लाग्नुले प्रहरीको दमन र डिक्सन र उनका साथीहरुले गरेको व्यवहारको बदला भएको संकेत गरेको छ।
०००
‘थ्रि बिलबोर्ड आउटसाइट एबिङ, मिजोरी’ प्रदर्शन भएको वर्ष एकेडेमी अवार्ड (ओस्कार)को सात वटा विधामा छनोटमा परेको थियो। जसमध्ये दुई अवार्ड हात पार्यो। मुख्य अभिनेत्रीको रुपमा मिल्ड्रेडको भूमिकामा रहेकी फ्रेन्सिस म्याकडोरम्याडले अवार्ड पाएकी थिइन्। सहायक अभिनेताको रुपमा डिक्सनको भूमिकामा रहेका स्याम रकबेलले पनि अवार्ड पाएका थिए।
फिल्ममा मिल्ड्रेडकी छोरीको हत्यारा पाइयो पाइएन भन्ने देखाइएको छैन। तर, फिल्म प्रदर्शनमा आएपछि थुप्रै प्रभाव परेका छन्। अमेरिकाकै फ्लोरिडा, अमेरिकाबाहिर चीन, कोसोबो, माल्टाजस्ता धेरै देशमा फिल्ममा अपनाइएकै शैलीमा बिलबोर्डमार्फत न्यायको खोजी गरिएको थयो।
‘थ्रि बिलबोर्ड आउटसाइट एबिङ, मिजोरी’ हामीले हेरिरहेका अमेरिकी फिल्मभन्दा फरक छ। स्पष्ट संवाददेखि अश्लील गाली, प्रहरीको दोहोरो चरित्रदेखि रंगभेदी विभेद, न्यायका लागि लडेकी आमाको संघर्षदेखि न्याय दिलाउन नसक्ने प्रसाशनको असफलता फिल्ममा छन्।
सबैभन्दा सुन्दर त सिनेमाले विरोधको नौलो शैलीलाई स्थापित गर्न खोजेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।