काठमाडौं– शनिबारबाट केही दिन देशका धेरैजसो स्थानमा मौसम बदली हुने जल तथा मौसम विज्ञान विभागले बताएको छ। विभागको मौसम पूर्वानुमान महाशाखाले शुक्रबार विशेष बुलेटिन जारी गर्दै उक्त जानकारी दिएको हो।
भारतको आन्द्रप्रदेश तथा उडिसाको तटीय क्षेत्र आसपासको न्यून चापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले शनिबारबाट नेपालमा आंशिकदेखि सामान्य बदली हुने र आइतबारदेखि केही दिन देशभर सामान्यदेखि पूर्ण बदली हुने महाशाखाले जनाएको छ।
उक्त प्रणालीका कारण देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको भनाइ छ। केही स्थानमा मेघ गर्जन, चट्याङ, हावाहुरीसहित भारी वर्षाको सम्भावनासमेतरहेको महाशाखाले बताएको छ।
आज दिउँसो देशको प्रदेश १, प्रदेश २, बाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाको भनाइ छ। प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको छ।
राति पनि देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।