काठमाडौं– बडा दशैंको मुख्य दिन आज विजया दशमीको अवसरमा घर–घरमा टीका लगाइसकेकाहरु आफन्त तथा मान्यजन्य र ठूलाबडाबाट टीका लगाइ आशीर्वाद ग्रहण गर्न जान थालेका छन्।
घर–घरमा टीका लगाएर आफन्तकहाँ टीका लगाउन जानेको चलहपहल सुरु भएको छ।
घरमा टीका, जमरा ग्रहण गरेर मामाघर, ससुरालीलगायत आफूभन्दा ठूला मान्छेको हातबाट टीका थाप्न जानेको चहलपहल सडक एवं सार्वजनिक यातायातमा देखिन थालेको छ।
यो सँगै महाअष्टमी र महानवमीमा सुनसान भएको राजधानी लगायत देशका प्रमुख शहरमा सार्वजनिक र निजी यातायातका साधन पनि केही बढी गुड्न थालेका छन्।
आजदेखि कोजाग्रत पूर्णिमा अर्थात् कात्तिक २ गतेसम्म टाढा टाढा रहेका मान्यजनकहाँ पुगी नवदुर्गा भवानीको प्रसादस्वरुप टीका र जमरा ग्रहण गर्ने क्रम जारी रहन्छ।
पूर्णिमाका दिन सबै बलि पूर्ति भएपछि टीका लगाउने क्रम अन्त्य हुन्छ। कोजाग्रत पूर्णिमाका अवसरमा त्यस दिन राति जाग्राम बसी महालक्ष्मीको पूजा आराधना गरेपछि १५ दिन लामो बडा दशैं अर्थात् दुर्गा पक्ष समाप्त हुन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।