काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले बडादशैं जस्ता सांस्कृतिक पर्वले नेपाली समाज र मानव जीवनमा भ्रातृत्व, भावनात्मक एकता र राष्ट्रिय गौरवका निम्ति विशिष्ट योगदान पुर्याउँदै आएको बताएका छन्।
विजयादशमीका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री देउवाले विविधतायुक्त विशेषताबीचको एकता हाम्रो मौलिक पहिचान भएकाले सबै जाति, भाषा, धर्म, संस्कृति र सभ्यताको संरक्षण र विकास गर्नु साझा दायित्व भएको उल्लेख गरेका हुन्।
प्रधानमन्त्री देउवाले कोभिड–१९ नियन्त्रणका उपायहरुलाई प्रभावकारी बनाउँदै लगिएको भए पनि यसको जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्डको पालना गरेर दशैं पर्व मनाउनसमेत आम नेपालीलाई आग्रह गरेका छन्।
प्रधानमन्त्री देउवाले शुभकामना सन्देशमार्फत असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा हरेक वर्ष मनाइने महान पर्व दशैंको मुख्य दिन विजयादशमीको सुखद् उपलध्यक्षमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन्। साथै उनले दशैं पर्वले सम्पूर्ण नेपालीको मुहारमा खुसी ल्याउन सकोस् र राष्ट्रिय एकताको भावना अझ विकास गर्न सकोस् भन्ने कामनासमेत व्यक्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।