काठमाडौं– आज दशैंको महत्त्वपूर्ण दिन अर्थात् वियादशमी। आज घटस्थापनाको दिन विधिपूर्वक राखिएको जमरा र रातो टीका लगाई मान्यजनबाट आशीर्वाद लिने गरिन्छ। आज चन्द्रमा मकर राशिमा रहेकाले टीका लगाइमाग्ने मानिस पूर्व फर्कनुपर्ने समितिले जनाएको छ। लगाइदिने मानिस पश्चिम फर्कदा मकर राशिमा रहेका चन्द्रमा दाहिने हुन्छन। चन्द्रमा दाहिने वा सम्मुख पारेर टीका लगाउनुपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद्हरु बताउँछन्।
विजयादशमीका दिन आफ्ना मान्यजनबाट टीका ग्रहण गर्दा अरू फूलको सट्टा समृद्धिको प्रतीक पहेँलो जमरा नै प्रयोग गरिन्छ। घटस्थापनाका दिन राखिएको जमरा आज नवदुर्गाको प्रसादका रुपमा लगाइन्छ। घटस्थापना गरिएको पूर्ण कलशबाट अभिषेक गरी नवदुर्गाको प्रसादस्वरुप रातो टीका र जमरा लगाउने वैदिक सनातनी परम्परा छ।
केही जाति र सम्प्रदाय विशेषले भने आज सेतो अक्षताको टीका लगाएर पनि विजयादशमी पर्व मनाउँछन्।
असत्यमाथि सत्य र आसूरी शक्तिमाथि दैवी शक्तिको विजयका रूपमा बडादसैँ पर्व मनाउने परम्परा बसेको शास्त्रीय प्रमाण रहेको छ। यस पर्वअन्तर्गत नवरात्रिका उपलक्ष्यमा घटस्थापनादेखि नौदिनसम्म विभिन्न शक्तिपीठ तथा दशैघरमा प्रत्येक दिन पूजाअर्चनासहित दुर्गा सप्तशती चण्डी र भगवतीको स्तोत्र पाठ गरेपछि त्यसको प्रसाद आजदेखि कोजाग्रत पूर्णिमामा लगाइन्छ।
आजका दिन परिवारमा आफूभन्दा ठूलाबडा, बाजेबज्यै, बाबुआमा, गुरूपुरोहित तथा मान्यजनको हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उनीहरूबाट यश, ऐश्वर्य वृद्धि तथ दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिने गरिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।