काठमाडौं- आज दशैंको मुख्य दिन। आज आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाई दशैं मनाइँदै छ। नौ दिनसम्म दशैं घरमा दुर्गा भवानीको पूजाआराधना गरी राखिएको जमरासहितको टीका आजदेखि पाँच दिनसम्म लगाउने प्रचलन छ।
पूजाकोठा तथा दशैंघरमा विधिपूर्वक राखिएको जमरा आजैका दिन देवीपूजा विसर्जन गरी निकालिएपछि पूर्ण घडाको जलले अभिषेक गरी आफ्ना मान्यजनबाट नवदुर्गा भवानीको प्रसाद, टीका र जमरा लगाई आशीर्वाद थापिन्छ।
आजका दिन परिवारमा आफूभन्दा ठूलाबडा, बाजेबज्यै, बाबुआमा, गुरूपुरोहित तथा मान्यजनको हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उनीहरूबाट यश, ऐश्वर्य वृद्धि तथ दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिने गरिन्छ।
विजयादशमीका दिन आज बिहान ८ बजेर १९ मिनेटमा देवी विसर्जन र बिहान १०बजेर०२ मिनेटमा टीका लगाउनका लागि शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए।
विजयादशमीका दिन आज दिनभर देवीको प्रसाद लगाउने साइत भए पनि दिनभरमध्येमा राम्रो समयको साइत १० बजेर ०२ मिनेटको दिइएको उनले बताए।
“अत्यावश्यक परेकाले देवी विसर्जन गरेपछि टीका लगाउन हुन्छ, १०ः०२ बजेको साइत नै कुर्नुपर्दैन, देवी विसर्जनसम्म पनि कुर्न नसकिने अवस्था छ भने सूर्योदयपछि देवी विसर्जन गरेर टीका लगाउन हुन्छ”, अध्यक्ष अधिकारीले भने।
समितिले दिएको साइतको समय प्रभावशाली भएकाले सक्नेले यही समयमा टीका लगाउने गरी तयारी गर्न समितिले आह्वान गरेको छ। नसक्नेका लागि विजयादशमीको दिन बिहानदेखि अखिल बलिपूर्तिका लागि पूजा गरेका सबै सामग्री नसेलाएसम्म टीका लगाउन कुनै समस्या छैन।
विदेशबाट आउनेका लागि भने अखिल बलि पूर्ति गरेपछि पनि प्रसाद बाँकी राखेर कोजाग्रत पूर्णिमाका दिनसम्म पनि टीका लगाइदिन सकिने जनाइएको छ। विजयादशमीका दिन चन्द्रमा मकर राशिमा रहेकाले टीका लगाइमाग्ने मानिस पूर्व फर्कनुपर्ने समितिले जनाएको छ। लगाइदिने मानिस पश्चिम फर्कँदा मकर राशिमा रहेका चन्द्रमा दाहिने हुन्छन्। चन्द्रमा दाहिने वा सम्मुख पारेर टीका लगाउनुपर्ने शास्त्रीय मान्यता छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।