सुर्खेत– मंगलबार मुगुको छायाँनाथ रारा गाउँपालिका–७ मा भएको बस दुर्घटनाको छानबिन गर्न कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले समिति गठन गरेको छ।
बस दुर्घटनाको सत्यतथ्य पत्ता लगाइ १० दिनभित्र प्रतिवेदन पेस गर्ने गरी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको हो।
समितिमा प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन लामिछाने र प्रदेश ट्राफिक प्रहरी कार्यालयका हबल्दार हरि लामिछाने सदस्य छन्।
बाँकेको नेपालगञ्जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको छायाँनाथ रारा यातायात प्रालिद्वारा सञ्चालित भे१ख ३१६७ नम्बरको बस मंगलबार जुम्ला–मुगु सडक खण्डमा पर्ने पिनातपने खोलामा दुर्घटना भएको थियो। दुर्घटनामा ३२ जनाको मृत्यु हुनुका साथै १३ जना घाइते भएका थिए।
छानबिन समितिले घटनाको अनुसन्धान प्रतिवेदन तयार गरी प्रदेश प्रहरी प्रमुख एवं प्रहरी नायब महानिरीक्षक गणेशबहादुर ऐरसमक्ष पेस गर्नेछ।
चालकको सिटमुनिको टायर पञ्चर भइ दुर्घटना भएको प्रारम्भिक अनुमान गरिए पनि छानबिन समितिको स्थलगत अनुसन्धान प्रतिवेदनका आधारमा वास्तविक कारण पत्ता लाग्ने कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक ऐरले बताए। 'बस, सडक वा चालक कसको के कमजोरीका कारण दुर्घटना हुन पुग्यो त्यसको अध्ययन हुनेछ,' डीआईजी ऐरले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।