काठमाडौं– निर्देशक दीपेन्द्र के खनालको परिचय छुट्टै छ। पशुपति प्रसाद र आमाजस्ता दर्शक तथा समीक्षकले रुचाएका फिल्म बनाएका उनी दर्शकलाई चकित तुल्याउनमा कुनै कसर बाँकी राख्दैनन्। यिनै निर्देशक खनालले काम गरिरहेको पछिल्लो फिल्म ‘चिसो मान्छे’ आउँदो वैशाखमा प्रदर्शन हुने भएको छ।
सामाजिक सञ्जालमार्फत् फिल्मको पोस्टर सार्वजनिक गर्दै फिल्म ३० वैशाख २०७९ मा प्रदर्शन हुने जानकारी निर्देशक खनालले दिएका हुन्। फिल्मको छायांकन, लेखन तथा निर्देशन सबै खनालले नै गरेका छन्। फिल्मलाई शर्मिला पाण्डेले निर्माण गरेकी हुन्।
चिसो मान्छलेको मुख्य भूमिकामा अभिनेत्री स्वस्तिमा खड्का तथा अभिनेता अर्पण थापा रहेका छन् भने देशभक्त खनाल, आशान्त शर्मा, झकेन बीसीलगायतको अभिनय फिल्ममा छ।
निर्देशक खनालका अनुसार फिल्ममा मानिसहरुमा भएको नैराश्यताको कथालाई समेटिएको छ। फिल्म काठमाडौंदेखि सुदूरपश्चिमको बाजुरासम्म खिचिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।