काठमाडौं- मुकुन्द भट्टको निर्देशनमा बन्न लागेको फिल्म ‘एक्स नाइन’मा बलिउड अभिनेता सुनिल शेठ्ठीले अभिनय गर्ने सम्भावना बढेको छ। भट्टले आफ्नो सामाजिक सञ्जालमार्फत् एक्स नाइनमा आफूले प्रस्ताव गरेको भूमिका शेठ्ठीले मन पराएको बताएका छन्।
निर्देशक भट्टसहित फिल्मको टोली केही दिनअघि शेठ्ठीलाई भेट्न भारत गएको थियो। शेठ्ठीसँग भेट भएको जानकारी दिँदै भट्टले फेसबुकमा आफूले प्रस्ताव गरेको भूमिका मन परेको जानकारी दिएका हुन्। उनले लेखेका छन्, ‘उनले मेरा पुराना सबै फिल्म हेरेको र मेरो काम मन परेको बताएका छन्। एक्स नाइनमा उनलाई दिन खोजेको भूमिका पनि मन पराएका छन्।’
भट्टले थप जानकारी केही दिनमै दिने उल्लेख गरेका छन्। सम्झौता भएमा शेठ्ठी एक्स नाइनमा खलनायकको भूमिकामा देखिने छन्।
हाल फिल्मको रिहर्सल र भूमिकाबद्ध हुनमा फिल्मका कलाकारहरु व्यस्त छन्। महँगो बजेटमा निर्माण हुन लागेको फिल्ममा नेपालका पनि महँगा कलाकारलाई आबद्ध गराइएको छ। शीर्ष भूमिकामा अनमोल केहीसँगै सौगात मल्ल, पुष्प खड्का, राज कटुवाल लगायतका कलाकारलाई आबद्ध गरिएको छ।
फिल्म फेब्रुअरीबाट नेपालसँगै युरोपमा छायांकन हुने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।