दोलखा– जब संयोगले इटालियन महिलासँग भेट भयो, विनोद दंगालको जीवनले नयाँ मोड लियो।
सानै उमेरमा बुबाको मृत्यु भयो। उनी बुबाको मृत्युको कारण ठम्याउन सक्ने उमेरका थिएनन्। तर, बुबाको मृत्युबारेको जिज्ञासाले उनलाई पछ्याइरह्यो। विद्यालयमा कक्षा चढ्दै जाँदा यो जिज्ञासा झनै गाढा गरी मनमा बस्यो।
उनी बुझ्ने भएपछि थाहा पाए, रुढीवादी मान्यताका कारण समयमा नै अस्पताल पुर्याउन नसक्दा बुबाको मृत्यु भएको रहेछ। ‘समयमा अस्पताल लगेको भए सायद बुबा बाँच्नु हुने रहेछ,’ सिन्धुपाल्चोकका विनोद दंगालले यो कुरा बुझेपछि उनलाई डाक्टर बन्ने इच्छा जाग्यो।
तर, उनका लागि यो सहज थिएन। बुबाको मृत्युपछि गरिबीले छोपेको थियो। उनले दुखैदुःखमा पढिरहेका थिए। जसोतसो माध्यमिक तहमा पुगे। त्यही बेला उनको जीवनमा सुखद मोड आयो। त्यो एउटा संयोग थियो।
इटालीबाट नेपाल घुम्न आएकी टेरेजा निकोली सिन्धुपाल्चोक पुगिन्। विनोद उनको नजरमा परे। टेरेजाले विनोदलाई पढाइका लागि सहयोग गर्ने वचन दिइन्।
टेरेजा निकोलीसँग डा. विनोद।कक्षा १० को पढाइ सकेपछि काठमाडौँ आएर उच्च मावि तहमा विज्ञान विषय लिएर पढ्न उनै टेरेजाले सहयोग गरिन्। उनले लैनचोरको निष्ट कलेजमा बायोलोजी विषय लिएर उच्च मावि उत्तीर्ण गरेपछि चिकित्साशास्त्र (एमबीबीएस) पढ्ने बाटो खुल्यो। एमबीबीएस पढ्न चीन पुगे। त्यहाँ उनले छात्रवृत्तिमा नै एमबीबीएसको अध्ययन सकेपछि नेपाल फर्किए।
उनले सन् २००९ मा चीनको चाइना थ्री गोर्जेज विश्वविद्यालयबाट एमबीबीएस सकेका हुन्। त्यसपछि काठमाडौं आएर तीन महिना समुदायमा काम गर्ने क्रममा दोलखा पुगे। दोलखा बसाइमा उनले गरिब जनताको अस्पतालसम्मको पहुँचको समस्या थप बुझे। त्यसपछि उनलाई त्यहीँका जनताको नियमित उपचारमा संलग्न हुने विचार आयो।
उनी एक वर्ष दोलखै बसे। अनि, एमडी अध्ययन गर्ने निधो गरे। त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्जबाट सन् २०१४ मा ‘जेनेरल प्राक्टिस’मा एमडी (एमडीजीपी) पूरा गरे। ग्रामीण भेगका मानिसहरुको आवश्यकता र चिकित्सकको उपलब्धतालाई राम्रोसँग बुझेका कारण उनले एमडीजीपी विषय रोजेका थिए।
उनी भन्छन्, ‘नेपालको सन्र्दभमा धेरैजसो डाक्टर गाँउ तथा दुर्गममा नजाने परम्परा अहिले पनि विद्यमान छ। त्यसकारण म यस्तो विषय पढ्न चाहन्थे, जुन विषय पढेपछि ग्रामीण क्षेत्रका धेरैभन्दा धेरैलाई सेवा दिन सकियोस्।’
गाउँबाट शहरका सुविधासम्पन्न अस्पतालमा रेफर भएका धेरै बिरामीको बाटोमा नै मृत्यु हुने अवस्था थियो। ‘दुर्गमका बिरामीको दुःखपीडा देखेर नै उनीहरुको दुःखमा मल्हमपट्टी लगाउन एमडीजीपी विषय रोजेँ,’ उनी भन्छन्।
एमडीजीपीमा ‘गोल्ड मेडल’
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट एमडीजीपीमा विनोद आफ्नो ब्याजको उत्कृष्ट बन्न सफल भए। गोल्ड मेडलिष्ट बनेपछि काम गर्न पुनः दोलखा नै गए। गौरीशंकर अस्पतालमा बसेर एक बर्ष सेवा दिए।
उनी काम गर्ने बेला नै ‘न्याय हेल्थ नेपाल’ नामक गैरसरकारी संस्थाले सरकारसँग साझेदारी गर्दै दोलखाको प्राथमिक स्वास्थ्य केन्द्रबाट निःशुल्क, गुणस्तरीय तथा कागजरहित स्वास्थ्य सेवा दिन सुरु गर्यो। उनी पनि न्याय हेल्थ नेपालद्वारा संचालित प्राथमिक अस्पतालको मेडिकल निर्देशकका रुपमा काम गर्न थाले। उनले सिन्धुपाल्चोक र दोलखामा बसेर जनतालाई सेवा दिन थालेको १२ वर्ष पुगेको छ। यो अवधिमा धेरै जनताको उपचार गरेर ज्यान बचाउन सफल भएकोमा उनी हर्षित छन्।
‘१२ बर्षको अवधिमा दोलखाको स्वास्थ्यमा निकै सुधार भएको छ, जनस्वास्थ्यका धेरै सुचकमा सुधार भएको छ, शल्यक्रियाको पहुँच भएको छ,’ उनले भने। सुरुवातमा दैनिक २० देखी ३० जना बिरामी आउने अस्पतालमा अहिले दुई सयदेखि तीन सयसम्म बिरामी आउँछन्। हरेक दिन पाँच वटासम्म शल्यक्रिया हुने गरेको छ।
कामसँगै आत्मसन्तुष्टि
उनलाई नागरिकको जीवन बचाउन पाउँदा बुबाको याद आउँछ। ‘म हरेक दिन त्यस्तो घटनासँग खेल्छु कि जुन कुराले मलाई बुवाको याद आउँछ,’ उनी भन्छन्। उपचारका लागि आएका बिरामीलाई उनले उपचार सेवा मात्र दिएका छैनन्, रगत आवश्यक परेकालाई आफैं रक्तदान गरेर बचाएका पनि छन्।
ग्रामीण क्षेत्रको स्वास्थ्य समस्यालाई नजिकबाट नियालेका विनोद नेपालको स्वास्थ्यलाई अझै सुधार गर्न स्थानीय सरकारी निकायको अपनत्व र राजनितिक दलहरुको साथ हुन आवश्यक रहेको बताउँछन्। ‘स्वास्थ्य संरचना तथा पूर्वाधारसहित जनशक्तिको उचित व्यवस्थापन गर्न राजनीतिक प्रतिबद्धता चाहिन्छ,’ उनी भन्छन्, ‘स्थानीय तहको साथ र समर्थनसँगै स्वास्थ्यमा सरकारले केही लगानी बढाउने हो भने धेरै परिवर्तन हुन्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।