काठमाडौं- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) प्रदेश २ का संसदीय दलका नेता जितेन्द्र सोनलले अख्तियारले मुख्यमन्त्री कार्यालयमा छापा मार्दैमा संघीयतामाथि खतरा नहुने बताएका छन्। प्रदेश सभाको सातौँ अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै नेता सोनलले यस्तो बताएका हुन्।
उनीअघि बैठकमा सम्बोधनका क्रममा अख्तियारको छापाले मुख्यमन्त्री कार्यालयको गरिमामा आँच पुर्याएको भन्दै असन्तुष्टि व्यक्त गरेका मुख्यमन्त्री लालबाबु राउतलाई जवाफ दिँदै सोनलले यस्तो टिप्पणी गरेका हुन्।
‘संघीयता लौकाको कोपिला होइन,’ उनले भने, ‘मुख्यमन्त्री कार्यालयमा साइकल खरिदमा भएको अनियमितताको उजुरीका अधारमा अख्तियारको छापामारीले संघीयता गुम्दैन।’
अख्तियार छानबिन गर्न आएपछि प्रभावित गर्नका लागि मसाल जुलुस निकाल्ने, आन्दोलन गर्ने काम भएको भन्दै उनले यसको कुनै अर्थ नभएको समेत बताए। ‘निष्पक्ष छानबिन गर्ने वातावरण बनाउनुस्, त्यसलाई प्रभावित पार्ने काम होइन,’ उनले भने, ‘यस प्रदेशको गरिमा बचाउनका लागि मार्गप्रशस्त गर्नुस्- छानबिनका लागि।’
उनले मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने भएपनि त्यस अनुसार नलिएको भन्दै आपत्ति जनाए।
‘संविधानको धारा १८८ उपधारा २ मा मुख्यमन्त्रीले दलको विभाजन भइसकेपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्छ भन्ने अनिवार्य व्यवस्था छ,’ उनले भने, ‘त्यस हिसाबले ३० दिन असोजको ७ गते हुन्छ तर आज असोज २० मा हामी सदनको बैठकमा सहभागी भएका छौं। यो बीचमा सरकारले गरेको काम कारबाहीलाई संवैधानिक मान्ने कि के गर्ने? यसको सम्पूर्ण जानकारी प्रदेश सभा र यहाँका जनतालाई मिल्नुपर्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।