काठमाडौं- प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कुनै पत्र र जानकारीसमेत नदिएर अख्तियारले छापा मार्नु संस्थामाथिको आक्रमण भएको टिप्पणी गरेका छन्।
बुधबार प्रदेश सभाको बैठकमा बोल्दै मुख्यमन्त्री राउतले ‘बेटी बचाऊ बेटी पढाऊ’ अभियानमा अनुसन्धान थालेर प्रदेश सरकारलाई बदनाम गर्न खोजिएको आरोप समेत लगाए। उनले आफ्नो सम्बोधनको अधिकांश समय यसैमा स्पष्टिकरण दिनमै बिताए।
‘नीति तथा कार्यक्रममा आएको होइन र बेटी बचाऊ बेटी पढाऊ भन्ने कार्यक्रम। तपाईं माननीयहरुलाई पनि जानकारी छ नि,’ उनले भने, ‘अहिले प्रदेश सरकारलाई बदनाम गराउन अनेक प्रयत्न गरिएको छ।’
अनियमितता गरेको भनेर सरकारलाई बदनाम गराउने काम भएको उनको भनाइ छ।
‘मुख्यमन्त्रीलाई मात्र जानकारी गराएको भए म आफैं फाइल नै उपलब्ध गराइदिन्थेँ। जुन शैली अपनाइयो, त्यो शैली उचित भएन,’ उनले अख्तियारको कार्यशैलीलाई लिएर असन्तुष्टि जनाए, ‘म आफैं पनि प्रदेशमा सुशासन कायम गर्न लागेको मानिस। यसलाई विभिन्न संयन्त्रले जालझेलको शिकार बनाए।’
अख्तियारको छापा मार्ने काम संस्थामाथिको आक्रमण भएको भन्दै उनले आफूले यस विषयमा अख्तियार प्रमुखसँग पनि कुराकानी गरेको जानकारी दिए।
‘कुनै किसिमको पत्र नआइकन त्यसका लागि यस किसिमको व्यवहार गर्नु ठीक छ र? उहाँहरुलाई जे कागजात चाहिएको थियो त्यो लिन सक्नुहुन्थ्यो। सम्मानका साथ कागजात दिन्थेँ, ’उनले भने, ‘तर, गलत हिसाबले संस्थामाथि आक्रमण गरियो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।