एजेन्सी– यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार तीन भौतिकशास्त्री रेनर वेइस, किप थर्न र ब्यारी बारिसलाई प्रदान गरिने भएको छ।
उनीहरूलाई गुरुत्वाकर्षणको तरंग (रिपल्स इन स्पेस–टाइम) पत्ता लगाएका कारण नोबेल पुरस्कार दिइएको नोबेल पुरस्कार समितिले मंगलबार जनाएको छ।
वेइस म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलजीमा प्रोफेसर छन् भने थर्न र बारिस दुवै जना क्यालिफोर्निया इन्स्टिच्युट अफ टेक्नोलजीमा कार्यरत छन्।
गुरुत्वाकर्षणको तरंग हुन्छ भनेर प्रसिद्ध वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले सय वर्षअघि नै अनुमान गरेको भए पनि वैज्ञानिकहरूले फेला पार्न वा देख्न सकेका थिएनन्।
वेइस, थर्न र बारिसले सुरु गरेको गुरुत्वाकर्षणको तरंग लिगो (एआइजिओ– लेजर इन्टरफेरोमिटर ग्य्राभिटेसनल–वेभ अब्जरभेटरी) ले सन् २०१५ सेप्टेम्बरमा एक अर्ब प्रकाश वर्ष टाढा रहेका दुई विशाल ब्ल्याक होल आपसमा ठोक्किँदा निस्केको गुरुत्वाकर्षण तरंग पत्ता लगाएका थिए।
पुरस्कारको रकम ११ लाख अमेरिकी डलरमध्ये आधा वेइसलाई र बाँकी आधा बारिस र थर्नलाई प्रदान गरिने नोबेल पुरस्कार समितिले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।