काठमाडौं- नेकपा (एमाले)को पहिलो विधान महाधिवेशनको दोस्रो दिन तीन प्रतिवेदनका साथै पाँच वटा समूहको समूहगत छलफलको निष्कर्ष प्रस्तुत भएका छन्। शनिबार बिहान साढे ८ बजेदेखि जारी समूह छलफलको निष्कर्ष दिउँसोदेखि सुरु भएको पूर्ण सत्रमा प्रस्तुत गरिएको हो।
दिउँसो २ बजेपछि सुरु भएको पूर्ण सत्रमा अनुशासन आयोगका तर्फबाट अमृत बोहरा, लेखापरीक्षण आयोगका तर्फबाट पुष्प कँडेल र सल्लाहकार परिषद्को तर्फबाट केशव बडालले प्रतिवेदन पेस गरेका हुन्। तीन वटै प्रतिवेदन शुक्रबार नै प्रस्तुत गर्ने कार्यसूची रहेको भए पनि समय अभावका कारण शनिबार मात्रै प्रस्तुत गरिएका हुन्।
प्रतिवेदन पेस गर्दै अनुशासन आयोगका अध्यक्ष बोहराले शक्ति केन्द्र र पार्टी नेतृत्वमा रहेकाले आलोचना स्वीकार गर्न नसकेको बताए। ‘पार्टीमा अनुशासन कायम भएन, अन्तरविरोध पहिचान गर्नेमा ध्यान कम गयो, गुटबन्दी बढ्यो। आलोचना गर्नेलाई निषेध गर्नेसमेतको काम भयो। नेतृत्वले आत्मालोचना स्वीकार गर्न सक्नुपर्दछ,’ उनले भने, ‘पार्टीभित्र चरम असन्तुष्टि बढ्यो। स्वेच्छारी प्रवृत्ति बढेकाले निकै समस्या आयो।’
पार्टीमा नीति, विधि देखिए पनि त्यो व्यवहारमा लागू हुन नसकेको उनको निष्कर्ष थियो। अनुशासन उल्लंघन बढेको भन्दै उनले अब पार्टीलाई अघि बढाएर लैजान सबै गम्भीर हुनुपर्ने बताए।
शुक्रबार अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलद्वारा प्रस्तुत संगठनात्मक प्रस्ताव र उपमहासचिव तथा संगठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रस्तावमाथि शनिबार समूहगत छलफल भएको हो। छलफलका लागि शुक्रबारै १० वटा समूह बनाइएको थियो। १० समूहलाई सहजीकरण गर्नका लागि २० नेतालाई जिम्मेवारी पनि तोकिएको थियो।
महाधिवेशनको अन्तिम दिन आइतबार बिहान ८ बजे सुरु हुने पूर्ण सत्रमा बाँकी रहेका ५ वटा समूहका तर्फबाट सुझाव राखिनेछ। प्रतिवेदनहरुमाथि प्राप्त सुझावहरुमा दस्तावेज प्रस्तोताहरु ओली, पोखरेल र पौडेलले जवाफी सम्बोधन गरी पारित गर्ने कार्यसूची रहेको छ।
समूहगत छलफलको निष्कर्ष अपराह्न ४ बजेपछि सुरु भएको थियो। कर्णाली प्रदेश समूहबाट गोरखबहादुर बोगटी, केन्द्रीय निकाय र केन्द्रीय विभाग समूहको तर्फबाट भानुभक्त ढकाल, लुम्बिनी प्रदेश समूहबाट लिला गिरी, सुदूरपश्चिम प्रदेश समूहबाट कर्ण थापा र बागमती प्रदेश समूहबाट आनन्द पोखरेलले आ-आफ्नो समूहको रिपोर्टिङ प्रस्तुत गरेका हुन्।
शनिबार रिपोर्टिङ गरेकामध्ये सबैजसो समूहले निर्वाचन प्रणाली खर्चिलो भएको भन्दै यसलाई परिवर्तन गर्नुपर्ने र त्यसको पहल नेकपा एमालेले गर्नुपर्ने सुझाव दिएका छन्। त्यस्तै, पार्टी उपाध्यक्षको प्रस्तावित व्यवस्था परिवर्तन गर्नुपर्ने, वरिष्ठ उपाध्यक्ष राखिनुपर्ने, एमसीसीको विषयमा पार्टीको धारणा आउनुपर्ने लगायतका विषयमा पनि सबैजसो समूहमा कुरा उठेको देखिन्छ। 'निर्वाचन प्रणाली निकै खर्चिलो भयो। यसलाई कम खर्चिलो बनाउनुपर्छ,' लुम्बिनी प्रदेश समूह रिपोर्टिङ गर्दै लिला गिरीले भने, 'निर्वाचन लड्न नसक्ने स्थिति देखिएको छ। टिकट लिन पनि डराउनुपर्ने अवस्था रहेको छ।'
बागमती प्रदेश समूहमा नेतृत्वको ब्राण्डिङका विषयमा फरक-फरक धारणा प्रस्तुत भएका छन्। ‘नेतृत्वलाई ब्राण्डिङ गरेर जाने विषयमा पनि फरकफरक कुरा उठेको छ। नेतृत्वको ब्राण्डिङ गर्नुहुन्न भन्ने कुरो पनि छ। त्यस्तै, अन्तर्राष्ट्रिय अभ्यासका हिसाबले पनि कतिपयले ब्राण्डिङ गरेर जानु उपयुक्त हुने बताएका छन्,' आनन्द पोखरेलले रिपोर्ट प्रस्तुत गर्दै भने।
पदाधिकारीको संख्याको विषयमा पनि समूहपिच्छे फरक-फरक धारणा छन्। उपमहासचिव विष्णु पौडेलले शुक्रबार प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमा अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, सचिव ६ गरी कूल २२५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्ने व्यवस्था राखिएको छ। यसअघि रहेको उपमहासचिवको प्रावधान हटाइएको छ। साथै, पोलिटब्युरो पनि नरहने प्रस्ताव गरिएको छ। धेरै समूहले यो विषयमा चासो राखेको देखिन्छ। कर्णाली प्रदेशले उपाध्यक्षको संख्या ७ राख्न सुझाव दिएको छ। त्यस्तै, केन्द्रीय निकाय र केन्द्रीय विभाग समूहले वरिष्ठ उपाध्यक्ष सहित ७ जना उपाध्यक्ष हुनुपर्ने सुझाव दिएको छ। बागमती प्रदेश ७ जना सचिव हुनुपर्ने सुझाव दिएको छ।
सुदूरपश्चिम समूहले तत्कालीन नेकपाको विभाजनमा पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल जिम्मेवार रहेको रिपोर्टिङ गरेको छ। कर्ण थापाले प्रस्तुत गरेको रिपोर्टिङमा उनीहरुकै कारण पार्टी विभाजन भएको कुरा राजनीतिक प्रतिवेदनमा स्पष्ट रुपमा आउनुपर्ने उल्लेख गरिएको हो।
महाधिवेशनको अन्तिम दिन आइतबार बिहान ८ बजे सुरु हुने पूर्ण सत्रमा बाँकी रहेका ५ वटा समूहका तर्फबाट सुझाव राखिनेछ। प्रतिवेदनहरुमाथि प्राप्त सुझावहरुमा दस्तावेज प्रस्तोताहरु ओली, पोखरेल र पौडेलले जवाफी सम्बोधन गरी पारित गर्ने कार्यसूची रहेको छ। महाधिवेशनले भोलि नै पार्टीको केन्द्रीय निर्वाचन आयोग पनि गठन गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।