काठमाडौं- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसको १४औं महाधिवेशनबाट आफूलाई सभपाति जिताउन आग्रह गरेका छन्। नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत शनिबार काठमाडौं महानगरको अधिवेशन उद्घाटन गर्दै उनले उपत्यकाबासीले बाहिरबाट आएका नेताहरूलाई मात्र अघि बढाएको भन्दै दु:खेसो पोखे।
नेता सिंहले उपत्यकाले आफ्नो नेतालाई सधै सानो देख्ने र बाहिबाट आएको नेतालाई अघि बढाउँदा आफूहरू पछि परेको उल्लेख गरे। 'उपत्यकाको समस्या भनेको आफ्नो ठाउँमा जन्मेको हुर्केको नेतालाई साना देख्ने बाहिरबाट आएको एउटा नेतालाई ठूलो देख्ने प्रवृत्ति भयो। अरुको झोला उपत्काकाबासीले कहिलेसम्म बोक्ने?'
उनले १४औं महाधिवेशनबाट पार्टीलाई जीवन्त राख्न र कांग्रेसलाई सक्षम बनाउन ‘फस्ट म्यान’ बन्न आफू अघि बढेको बताए। 'काठमाडौंमा जन्मिएको भन्दैमा, गणेशमान र मंगलादेवीको छोरा भन्दैमा म सभापति बन्नबाट अयोग्य हुने हो?, उनले भने, 'अरुको छोराहरुले त अवसर पाएका छन् त!'
उनले काम गर्न नसक्नेहरुको गुणगान नगाउन कार्यकर्ताहरुलाई आग्रह समेत गरेका छन्। वर्तमान पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेताहरुले विश्राम लिनुपर्ने उनको भनाइ छ।
नेता सिंहले जनतासँग विश्वासको मत लिन जाने हो भने जनताले नेतृत्व परिवर्तन गरेर आऊ भन्ने अवस्था आएको बताए। २०७४ सालमा कांग्रेस तीन तहको निर्वाचनमा नराम्ररी पराजित भएसँगै आफूले सभापति देउवालाई असफल नेता भएकाले राजीनामा दिन माग गरेको स्मरण गरे। सभापति देउवाले आफ्नै गृहजिल्ला डडेलधुरामा जिल्ला सभापतिलाई बाइपास गरेर शक्ति प्रदर्शन गरेको सिंहको आरोप छ।
सभापति देउवाले लोकतान्त्रिक दल नेपाली कांग्रेसको आन्तरिक लोकतन्त्र नै कमजोर बनाएको सिंहको आरोप छ। 'पार्टी सभापतिकै जिल्लाको अनशन पार्टी अफिसमा, जिल्ला सभापतिलाई शक्ति देखाएर बाइपास गरेको छ', उनले भने, 'देश लोकतान्त्रिक बनाउने, पार्टीलाई लोकतान्त्रिक भन्ने तर आफ्नै पार्टीको लोकतन्त्रलाई बेवास्ता गर्ने?, सिंहले प्रश्न गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।