काठमाडौं- नेकपा एमालेको विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीलाई गरिएको देवत्वकरणप्रति कतिपय सहभागीहरुले असन्तुष्टि व्यक्त गरेका छन्।
महाधिवेशनको दोस्रो दिन शनिबार बिहानदेखि जारी समूहगत छलफलमा सहभागीहरुले आफ्नै अध्यक्षको गुणगान बढी भएकोमा असन्तुष्टि जनाएका हुन्।
नेपाल लाइभसँगको कुराकानीमा एक सहभागीले भने, 'अध्यक्षको गुणागान अलि बढी भयो। उहाँलाई देवत्वकरण गरिएको छ। फ्लेक्सका उहाँकै फोटो छ। स्कर्टिङ गरेर ल्याइएको छ। जताततै अध्यक्ष मात्रै देखिनुभएको छ। कम्युनिस्ट पार्टीमा यो अलि सुहाउँदो भएन। यसले पार्टीमा अन्य नेताको योगदानको अवमूल्यन गर्छ भन्ने कुरा साथीहरु उठाउनुभएको छ।'
नेकपा एमालेको जारी विधान महाधिवेशनमा अध्यक्ष केपी ओलीलाई निकै महत्त्व दिइएको छ। पोस्टरदेखि पानीको बोतलसम्म उनकै फोटो प्रचारित गरिएको छ।
कार्यकर्ताहरुले उनलाई शुक्रबार सातदोबाटोदेखि गोदावरीसम्म स्कर्टिङ गरेर ल्याएका थिए। महाधिवेशनस्थलमा उनको पक्षमा नाराबाजी गरेका थिए।
एमालेले पहिलेपहिलै निकै महत्त्व दिने गरेका पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी तथा मदन भण्डारी मात्रै होइन, अन्तर्राष्ट्रिय कम्युनिस्ट गुरुहरु कार्ल मार्क्स, लेनिन लगायतलाई पनि खासै प्राथमिकता दिइएको छैन। यसैलाई संकेत गर्दै शुक्रबार एमाले केन्द्रीय सदस्य तथा सांसद झपट रावलले सामाजिक सञ्जालमा लेखेका थिए, ‘म कार्ल माक्र्स, लेनिन, पुष्पलाल, मदन र मनमोहन खोजिरहेको छु!’
महाधिवेशनस्थलमा ओलीको प्रशंसालाई निकै महत्त्व दिइएको छ। शुक्रबारै मुख्य हलमा अश्विनी भेटवालले दिएको 'उपहार' भनेर दिएको भिडिओमा उनकै प्रशंसा गरिएको थियो। प्रतिवेदन प्रस्तुत गर्दा होस् वा कार्यक्रम सञ्चालन गर्दा, ओलीलाई नै महान नेता स्थापित गर्ने ढंगका शब्द चयन भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।