एजेन्सी - एक महिलाको बलात्कार अभियोगमा दोषी ठहर स्वघोषित धर्मगुरु गुरमित राम रहिम सिंहकी फरार धर्मपुत्री हनीप्रित इन्सानले अदालतको फैसलापछि भड्किएको हिंसामा आफ्नो कुनै हात नरहेको बताएकी छन् ।
राम रहिमलाई बलात्कारको दोषी ठहर गर्दै जेल सजाय गर्ने अदालतको फैसलापछि भएको हिंसात्मक प्रदर्शनमा दर्जनौं मारिएका थिए ।
उक्त हिंसात्मक प्रदर्शन भड्काएको आरोपमा प्रहरीले हनीप्रितसहित ४३ जनालाई ‘मोस्ट वान्टेड’को सूचीमा राखी खोजी गरिरहेको छ ।
एक महिनाभन्दा बढी समय फरार रहेकी हनीप्रितले भारतीय राजधानी दिल्लीमा टेलिभिजन च्यानल इन्डिया टुडेसँगको कुराकानीमा मंगलबार नै आत्मसमर्पण गर्ने बताएकी छन् ।
उनले राम रहिम निर्दोष रहेको दाबी गरिन् । उनले न्याय पाउने आसमा सुनुवाइमा गएका बेला अदालतले राम रहिमविरुद्ध सजाय सुनाएपछि आफ्नो मस्तिष्कले काम नगरेको बताइन् ।
त्यस्तो बेलामा आफूले हिंसा भड्काउन षडयन्त्र कसरी गर्न सक्छु भनेर उनले भनिन् ।
राम रहिमसँग आफ्नो सम्बन्ध बाबु–छोरीको मात्र रहेको भन्दै उनले बाबु छोरीबीच नाजायज सम्बन्ध रहेको समाचार प्रशारण प्रकाशन गर्ने पत्रकारमाथि खनिइन् ।
राम रहिमको पक्राउ, सजाय र हिंस्रक प्रदर्शनपछि आफूविरुद्ध पक्राउ आदेश जारी भएकाले आफू डिप्रेसनमा गएकाले निर्दोष भए पनि लुकेको उनको भनाइ थियो । अझै आफ्नो मानसिक स्थिति सन्तुलित नभैसकेको र छिट्टै पन्जाब तथा हरियाना उच्च अदालतमा उपस्थित हुने उनले बताइन् ।
तर उनले आफू लुकेको वा बसेको ठाउँबारे भने कुनै जानकारी दिइनन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।