काठमाडौं– अभिनेता दीपक राज गिरीले संकटको समयमा नेपाली सिनेमा हललाई सञ्चालनमा ल्याउन विदेशी फिल्म नै आवश्यक भएको भन्दै नेपाली निर्माता/निर्देशकमाथि आक्रोश पोखेका छन्।
असोज २१ गतेबाट देशैभरका सिनेमा हल खुल्दैछन्। उक्त दिन प्रदर्शन गर्न नेपाली फिल्म नभएकाले गत असार ११ गते प्रदर्शनमा आएको हलिउड फिल्म ‘फास्ट एण्ड फ्युरियस–९’को भरमा नेपाली हल सञ्चालनमा आउँदै छन्।
विगतमा दर्जनौं फिल्म जुध्ने दसैंको समयमा यो वर्ष जम्मा दुई वटा नेपाली फिल्म घोषणा भएका छन्। नरेन्द्र भट्टराईको निर्देशनमा बनेको ‘धन्धागिरी’ र सोभित बस्नेतको निर्देशनमा बनेको ‘डाँडाको वरपिपल’ यो वर्ष दसैंको छेकोमा प्रदर्शन हुने तयारीमा छन्।
यसै बीच दिपक राज गिरिले सामाजिक सञ्जालमा नेपाली हल चलाउन विदेशी फिल्म नै चाहिने भन्दै नेपाली सिनेकर्मीप्रति आक्रोश पोखेका छन्।
उनले लेखेका छन्, ‘अहिलेको संकटमा हामीलाई हल चलाउन विदेशी फिल्म नै चाहियो। कमसेकम दशैंमा रिलिज गर्ने डेट तोकेर तयार भएर बसेका साथीहरुले त आँट गर्नु पर्ने थियो नि। सहज हुँदा एक आपसमा भिड्ने, अप्ठेरो बेला चाहिँ!’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।