काठमाडौं– प्रहरीको सिआइडी हौं भन्दै ‘आतंक मच्चाउने’ ६ जनालाई जिल्ला प्रहरी कार्यालय गोरखाले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा गोरखा नगरपालिका–११ का २० वर्षीय निरन्जन तामाङ, सोही ठाउँका २१ वर्षीय निरज कोइराला, १९ वर्षीय सुरज तामाङ, २० वर्षीय ओमराज गुरुङ, २० वर्षीय मनोज तामाङ र २० वर्षकै रिकेश कुँवर छन्।
उनीहरुविरुद्ध सार्वजनिक हित विरुद्धको कसूरमा जिल्ला अदालत गोरखाबाट १० दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको छ।
गएराति २ बजेतिर उनीहरुले गोरखाको बाह्रकिलो भन्ने ठाउँस्थित आबुखैरेनी सडकखण्डमा मालबाहक ट्रकहरु रोकी आफूहरु प्रहरीको सिआइडी भएको भन्दै आतंक मच्चाउने काम गरेको प्रहरीले जनाएको छ।
ट्रकहरुलाई बलजफ्ती रोकी उनीहरुले जथाभावी बोल्ने, धम्काउने गरेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।