काठमाडौं- विभागीय टिम नेपाल पुलिस, गल्कोट स्पोर्ट्स, हेल्प नेपाल र गण्डकी प्रदेशले छैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फ जित निकालेका छन्।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा सोमबार मणिमुकन्द भलिबल क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिसले लगातार दोस्रो जित निकालेको हो।
पुलिसले मणिमुकुन्दले २५-१४,२५-१५ र २५-१७ को सेटमा पराजित गर्यो ।
समूह 'बी' को शीर्ष स्थानमा रहेको पुलिसले २ खेलमा ६ अंक जोडेको छ। पुलिसले पहिलो खेलमा दावाली मिलन क्लबलाई हराएको थियो। मणिमुकुन्दले भने हारबाट प्रतियोगिताको सुरुआत गरेको छ।
च्याम्पियनसिप अन्तर्गत नै सोमबार गल्कोट स्पोर्ट्स क्लबले लगातार दोस्रो जित निकालेको छ।
समूह 'ए' को गल्कोटले प्रदेश २ माथि २५-२३,२५-२१ र २५-१८ को जित निकाल्यो। पहिलो खेलमा गल्कोटले बागमती प्रदेशलाई हराएको थियो।
त्यस्तै, साविक विजेता हेल्प नेपाल र गण्डकी प्रदेशले विजयी सुरुआत गरेका छन्।
बागमती प्रदेशलाई ३-० को सेटमा पराजित गर्दै हेल्प नेपालले सुखद् सुरुआत गरेको हो ।
हेल्पले बागमतीमाथि २५-१६,२५-१३ र २५-१२ को सेटमा जित निकालेको छ। गण्डकी प्रदेशले दावाली मिलन क्लबलाई ३-१ को सेटमा पराजित गर्यो।
गण्डकीले दावालीमाथि २५-१२,२५-२२,२०-२५ र २७-२५ को सेटमा जित निकाल्यो। दावालीको भने यो लगातार दोस्रो हार हो।
नेपाल भलिबल संघले आयोजना गरेको च्याम्पियनसिपमा पुरुषतर्फ १४ टोली र महिलातर्फ ६ टोलीको सहभागिता रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।