काठमाडौं- हरेकजसो पार्टीमा चर्चामा आइरहने सीमित नामहरु हुन्छन्। कतिपय यस्ता नेताहरु हुन्छन्, जो ओझेलमै परिरहेका हुन्छन्। उनीहरु दैनन्दिन समाचारका पात्र बनेका हुँदैनन्, अन्तर्वार्ताहरुमा भेटिँदैनन्। उनीहरुले चर्चा पाउन केही उथलपुथल हुनुपर्छ। पछिल्लो समय एमाले विभाजनपछि थुप्रै ओझेलका पात्रहरुले चर्चा पाएका छन्। नवगठित नेकपा एकीकृत समाजवादीमा महत्त्वपूर्ण जिम्मेवारी पाएका छन्।
एकीकृत समाजवादीमा ठूलो संख्यामा पदाधिकारी चयन गरिएको छ। समावेशी बनाउने प्रयत्न गरिएको भनिए पनि कतिपय समुदायको प्रतिनिधित्व हुन सकेको छैन। तर, ती पदका लागि थुप्रै नयाँ अनुहार देख्न सकिन्छ, जो एमालेमा थिएनन्।
सो पार्टीमा माधवकुमार नेपालको नेतृत्वमा सात उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र चार सचिवसहितको पदाधिकारी बनाइएको छ। जसका कारण लामो समयदेखि ओझेलमा परेका नेताहरुको पुनः चर्चा सुरु भएको हो। यसरी फ्रन्टमा आएका कतिपय नेता कुनै समयमा चर्चित भएपनि कालान्तरमा विभिन्न कारणले ओझेलमा परेका थिए।
राजदूत भइसकेका हमाल उपाध्यक्ष
एकीकृत समाजवादी गठन भएपछि 'फ्रन्ट'मा देखिएका अनुहारमध्ये उपाध्यक्ष प्रमेश हमाल पनि एक हुन्। उनी यसअघि एमाले कार्यक्रममा खासै देखिँदैनथे। एकीकृत समाजवादी गठन भएपछि भने अध्यक्ष नेपालसँगै अघिल्लो लहरमा देखिँदै आएका छन्।
काठमाडौंका स्थायी बासिन्दा हमालको पारिवारिक पृष्ठभूमि पनि कम्युनिस्ट नै हो। एमालेका पुराना र बौद्धिक नेता हमाल पार्टीकै कोटामा २ पटक राजदूत भइसकेका छन्। उनी मनमोहन अधिकारी र गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारका पालामा राजदूत भएका थिए। कूटनीतिक क्षेत्रतिर संलग्न भएकाले उनी पार्टी राजनीतिमा खासै सक्रिय देखिएका थिएनन्। प्रभावहीन नै थिए।
राजदूतको जिम्मेवारी पूरा गरेर फर्किएपछि माधव नेपालकै जोडमा तत्कालीन नेकपाको केन्द्रीय कमिटीमा आएका थिए। उनलाई पोलिटब्युरोमा ल्याउन योजना बनाइएको भएपनि सो कमिटी गठन नहुँदै नेकपा विभाजित भयो।
एमाले विभाजनपछि हमाल नयाँ पार्टीको उपाध्यक्ष भइ सक्रियता बढाउँदै लगेका छन्। पार्टी राजनीति र चुनावमा पोख्त नभए पनि नयाँ पार्टीमा सक्रिय भएकाले उनी फ्रन्टमा देखिन थालेका हुन्।
न्यौपाने दाजुभाइ पनि पदाधिकारीमा
एकीकृत समाजवादीको तेस्रो वरियतामा छन्, नेता मुकुन्द न्यौपाने। केदार न्यौपाने उपाध्यक्ष चयन भएका छन्। मुकुन्दको सहोदर कान्छा भाइ हुन्, केदार। भोजपुर गोगनेमा जन्मिएका केदारले हेटौंडा र मुकुन्दले बारा जिल्लालाई आधार बनाएर राजनीति गरेका हुन्।
मालेका संस्थापक नेता मुकुन्द बाराबाट २०५१ मा निर्वाचित भएका थिए। तत्कालीन लोकेन्द्रबहादुर चन्द नेतृत्वको सरकारमा श्रम तथा यातायात मन्त्री पनि भए। त्यसयता उनी निर्वाचित हुन सकेका छैनन्। यसअघि उपाध्यक्षमा पराजित न्यौपाने नेपालकै जोडबलमा प्रतिनिधि सभा समानुपातिक सांसद हुन सफल भए।
नेकपा विवादमा नेपालतिर लागे पनि उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको चर्को विरोध भने गरेनन्। नेपालले नयाँ दल दर्ता गर्ने भएपछि दुवै दाजुभाइ अग्रमोर्चामा लागे। मुकुन्दभन्दा जुनियर नेता केदार उपाध्यक्ष भएपछि उनलाई नेताको मात्रै जिम्मेवारी दिएको छ।
न्यौपाने दाजुभाइ एमालेमा ओझेल परिसकेका थिए। दुवै जना एकीकृत समाजवादीको पदाधिकारी भएपछि फ्रन्टमा देखिएका छन्।
झापा विद्रोहमा सहभागी घनेन्द्र पनि उपाध्यक्ष
एकीकृत समाजवादीका उपाध्यक्ष घनेन्द्र बस्नेत लामो जेल जीवन विताएका थोरै नेतामध्येमा पर्छन्। उनले आफ्नो राजनीतिक जीवनमा १६ वर्षभन्दा धेरै वर्ष जेलमै बिताए। २०४८ सालमा संखुवासभा र २०५१ सालमा भोजपुरबाट प्रत्यक्ष निर्वाचित भए पनि उनले मन्त्री हुने अवसर पाएनन्। बरु विभिन्न नेताको गुटबन्दीको सिकार भए।
एमाले अध्यक्ष ओलीकै गृह जिल्ला झापामै उनको पनि निर्वाचन क्षेत्र थियो। तर चुनाव जित्न नसक्ने आकलनका साथ उनी ओझेलमा पारिएका थिए। एकीकृत समाजवादी गठन भएपछि झापाली विद्रोहीका नेता बस्नेत फेरि फ्रन्टमा देखिएका हुन्।
उपाध्यक्षमा साह
उपाध्यक्ष धर्मनाथप्रसाद साह तत्कालीन मसाल पृष्ठभूमिबाट माले हुँदै एमालेमा जोडिएका हुन्। सिराहका साहले २०५६ सालमा संसदीय निर्वाचन जितेका थिए। दोस्रो जनआन्दोलनपछि सामान्य प्रशासन मन्त्री समेत भएका थिए। २०७० सालको निर्वाचनमा पार्टीका उम्मेदवारलाई नसघाएको आरोप लागेपछि उनी ओझेल पर्दै गएका थिए। उनी निष्क्रिय जस्तै भएका थिए।
साह आठौं महाधिवेसनबाट केन्द्रीय कमिटीमा आए पनि खासै सक्रिय हुन सकेनन्। नेकपामा केन्द्रीय कमिटीमा भए पनि प्रभावकारी उपस्थिति देखाउन सकेनन्। एमाले विभाजन भएपछि एकीकृत समाजवादीमा लागेर उपाध्यक्ष भएका छन्। अब भने सक्रियता बढाउने नेताहरुको दाबी छ।
केशवलाल श्रेष्ठ पनि उपाध्यक्ष
उपाध्यक्ष केशवलाल श्रेष्ठले प्रतिनिधि सभा निर्वाचन जित्न नसके पनि राष्ट्रिय सभाबाट सांसद भई २०५४ सालमा स्थानीय विकास मन्त्री हुन सफल भएका थिए। तत्कालीन महाकाली सन्धिपछि मालेमा सक्रिय भएका श्रेष्ठ वामदेव गौतमनिकट मानिन्छन्। गौतमनिकट भएकाले उनले एमालेमा खासै अवसर पाएका थिएनन्।
श्रेष्ठ एमालेमा पोलिटब्यूरो सदस्य र नेकपामा केन्द्रीय सदस्य भएका थिए। एमाले विभाजनका बेला गौतम कतै नखुलेपछि श्रेष्ठ नेपाल पक्षमा लागेका हुन्। पाको उमेरमा नयाँ पार्टीमा लागेका उनले उपल्लो तहको जिम्मेवारी पाएका हुन्।
प्रवक्ता भएपछि जगन्नाथ चर्चामा
जनगन्नाथ खचिवडा विद्यार्थी राजनीतिबाट उदाएका चर्चित नेता हुन्। रत्नराज्य लक्ष्मी क्याम्पस र त्रिभुवन विश्वविद्यालय र्कीतिपुरका स्ववियु सभापति भए। विद्यार्थी संगठन अनेरास्ववियुको महासचिव समेत बने। २०५६ सालको निर्वाचनमा उदयपुरबाट निर्वाचित भएका थिए। २०६४ सालमा सम्पन्न पहिलो संविधान सभा निर्वाचनमा माओवादी उम्मेदवारसँग पराजित भए।
त्यसयता भएका निर्वाचनमा टिकट नपाएकाले सांसद भएनन्। मन्त्री पनि हुने कुरा भएन। उनी नेपालनिकट नेता भएकाले पार्टीमा खासै अवसर नपाउँदा ओझेल जस्तै परेका थिए। एमालेमा पोलिटब्यूरो सदस्य थिए। एमाले-माओवादी एकतापछि केन्द्रीय कमिटीमा आएका थिए। उनलाई पोलिटब्यूरो सदस्य बन्ने सम्भावना थियो, तर त्यो कमिटी गठन नै भएन।
नेकपादेखि एमालेसम्म आउँदा निरन्तर ओली विरुद्धको मोर्चामा डटेर लागेका थिए। नेपालनिकट भई ओली प्रवृत्तिविरुद्ध निरन्तर प्रतिवादमा उत्रिएका कारण उनले चर्चा पाएका थिए। एकीकृत समाजवादी गठन भएपछि उनले पार्टी प्रवक्ता एवं सचिवको जिम्मेवारी पाएका छन्। पछिल्लो समय दैनिक जसो मिडियामा छाउन थालेका छन्।
सचिव नागेन्द्रप्रसाद चौधरी
एकीकृत समाजवादीको एक जना सचिव नागेन्द्रप्रसाद चौधरीले अहिलेसम्म प्रत्यक्ष चुनाव जितेका छैनन्। उनी २०४८ र २०५६ सालको निर्वाचनमा पराजित भएका थिए। पहिलो संविधान सभा निर्वाचनमा समानुपातिक सांसद भएपछि कृषि राज्य मन्त्री भएका थिए।
दोस्रो संविधान सभा निर्वाचनमा समानुपातिकतर्फ बन्द सूचीमा नाम भए पनि छनोटमा परेनन्। पार्टीभित्र गुटको शिकार हुँदा पछाडि पारिएको चौधरीले बताए। ‘पञ्चायती शासन व्यवस्थामा विद्यार्थी राजनीतिमा संघर्ष गरेँ। दुई संसदीय चुनावमा भाग लिएँ’, चौधरीले नेपाल लाइभसँग भने, ‘पार्टीभित्र गुटकै कारण पछाडि पारियो।’
चौधरी नेकपा एमालेको पोलिटब्यूरो सदस्य थिए। नेकपामा केन्द्रीय सदस्य भएका चौधरी पार्टी विवादमा खासै खुलेका थिएनन्। एमाले विभाजन हुँदा ओलीप्रति पनि तीतो पोखेनन्। पार्टीलाई समानुपातिक समावेशी बनाउनुपर्ने भएपछि चौधरीले सचिवको जिम्मेवारी पाएको बताइन्छ।
विरोध खतिवडाको विरोधले फेरि चर्चामा
खतिवडा २०४८, २०५१, २०५६ सालमा मकवानपुरबाट निर्वाचित सांसद हुन्। लगातार सांसद भएकाले २०६४ सालमा सम्पन्न पहिलो संविधान सभा निर्वाचन र २०७० सालमा सम्पन्न दोस्रो संविधान सभा निर्वाचनमा टिकट पाएनन्। पार्टीभित्र पनि माधव नेपालसँग नजिक भएकाले मन्त्री हुने अवसर पनि पाएनन्। मन्त्री र सांसद् नभएपछि बीचमा हराए जस्तै भए।
सांसदको भूमिकामा निक्कै चर्चित मानिने विरोध खतिवडा १० वर्ष गुटको पेलानले ओझेलमा परे। यद्यपि, पार्टीमा भने पोलिटब्युरो सदस्यको जिम्मेवारीमा थिए।
तत्कालीन एमाले र माओवादी केन्द्रबीच तालमेल भएपछि २०७४ मा मकवानपुर- २ बाट निर्वाचित भई चौंथोपटक संसद्मा छिर्ने अवसर पाए। चौंथोपटक सांसद हुँदा पनि ओलीले उनलाई मन्त्री बनाएनन्। नेपाल गुटका भएकाले ओलीको नजरमा परेनन्।
संसद् विघटनदेखि एमाले विभाजनसम्म विरोधले ओलीविरुद्ध चर्का अभिव्यक्ति दिए। ओलीकै विरोधले विरोधलाई संसद् र पार्टीमा थप चर्चित बनायो। पार्टी विभाजन भएपछि एकीकृत समाजवादीबाट मन्त्री हुनेहरुमा उनको चर्चा छ। स्थायी कमिटीमा पनि उनी समेटिने बताइन्छ।
नयाँ नेतामा रामकुमारी र मेटमणि
एमाले विवादमा युवा नेता रामकुमारी झाँक्री र मेटमणि चौधरी निकै चर्चित भए। विद्यार्थी राजनीतिमा छँदैदेखि चर्चित नेता झाँक्री प्रतिनिधि सभा विघटनपछि कडा अभिव्यक्तिकै कारण मिडियाको आँखामा परिरहिन्।
एमाले विभाजनले उनलाई थप चिनाउने मौका दियो। त्यसैले उनलाई पार्टी सचिव बनाइएको छ। उनको चर्चा पार्टीभित्र र बाहिर हुन थालेपछि पदाधिकारी र मन्त्री बनाउनै पर्ने दबाब बढेको छ। तर, उनी मन्त्री बन्ने सम्भावना भने न्यून रहेको नेताहरू बताउँछन्।
केन्द्रीय सदस्य मेटमणि चौधरी पनि विद्यार्थी राजनीतिबाट सक्रिय राजनीतितिर प्रवेश गरेका हुन्। उनी मूलतः भुगोलको राजनीति गरेर अगाडि बढेका हुन्। दाङ- १ बाट गएको प्रतिनिधि सभामा निर्वाचित भएर आउँदा खासै चर्चामा नरहेका उनी प्रतिनिधि सभा विघटनपछि ओलीको चर्को विरोधमा उत्रिए। उनी मन्त्री हुने पक्कापक्की भएको बताइन्छ। उनले स्थायी कमिटी सदस्यको जिम्मेवारी पनि पाउने आकलन गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।