काठमाडौं- भीमसेन लामाले निर्देशन गरेको फिल्म ‘कठपुतलीः द पपेट’ आज विन्टर फिल्म अवार्डअन्तर्गत प्रिमियर हुने भएको छ। फिल्म आज न्युयोर्कमा वर्ल्ड प्रिमियर हुने भएको हो। निर्देशक लामाले आफ्नो सामाजिक सञ्जालमार्फत् फिल्मको प्रिमियरबारे जानकारी दिएका हुन्।
हरर विधामा रहेको यो फिल्मको प्रमुख भूमिकामा अभिनेता कार्मसँगै अभिनेत्री उषा रजक, मिथिला शर्मा, गौरी मल्ल र शिल्पा मास्के लगायतले अभिनय गरेका छन्। निर्देशक लामाको पहिलो डेब्यू फिचर फिल्म रहेको कठपुतलीको पटकथा तथा संवाद लेखन सम्पदा मल्लले गरेकी छन्।
कठपुतली यसअघि हर्टल्यान्ड इन्टरनेसनल फिल्ममासमेत छनोट भएको थियो।
फिल्मलाई पृथ्वी राना मगरले निर्माण गरेका हुन् भने यसको कार्यकारी निर्मातामा सम्पदा मल्ल नै रहेकी छन्। फिल्मको संगीत संयोजन निक सोलेको रहेको छ।
निर्देशक लामाले यसअघि ‘च्यान्टी’ नामक लघु चलचित्र बनाएका थिए। सम्पदा मल्लकै लेखनमा बनेको उक्त लघु चलचित्र पनि विभिन्न फेस्टिबलमा छनोट भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।