झापा- झापाको झापा गाँउपालिका-१ माइती भई भारत किसनगञ्जको सिंघीमारी ग्राम पञ्चायत बस्ने ५५ बर्षीया डोली भन्ने धोन्नी टुडुको हत्या अभियोगमा ४ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा किसनगञ्ज जिल्ला सिंघीमारी ग्राम पञ्चायतका २३ वर्षीय ऐतवार सोरेन, झापा गाँउपालिका-१ का ३७ वर्षीय लखन टुडु सतार, ५६ वर्षीय सिरी साइँला भन्ने सोमाई हेमरम सतार र २७ वर्षीय श्री हेमरम सतार रहेका छन्।
भदौ २५ गते तत्काल नामथर नखुलेको अवस्थामा झापा गाँउपालिका-१ स्थित सानो माइखोलामा महिलाको अर्धशरीर भएको शव भेटिएको थियो।
पछि उक्त शव ५५ बर्षीया डोली भन्ने धोन्नी टुडुको रहेको खुलेको थियो। लासको पहिचान खुलेसँगै थप अनुसन्धानमा जुटेको प्रहरीले उनको हत्या भएको पुष्टि गरेसँगै उनको हत्यामा संलग्न रहेका चारै जनालाई असोज १ गते पक्राउ गरेको थियो।
उनीहरूलाई बुधबार जिल्ला प्रहरी कार्यालय झापामा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो।
पक्राउ परेकाहरु मृतक धोन्नीको आफन्त रहेको र जग्गाको बिषयमा उनीहरुची विवाद रहेको बुझिएको छ। भदौ २५ गते चारै जना मिलेर धोन्नी टुडुलाई माइखोला किनारमा लगी शरीरको विभिन्न भागमा काटी टुक्रा-टुक्रा पारेर खोलामा फालेको भन्ने अनुसन्धानका क्रममा खुलेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
पक्राउ परेका चारै जनामाथि कर्तव्य ज्यान मुद्दामा कानुनी कारबाही अगाडि बढाइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।