फाइल तस्बिर।
काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गत असार २७ गते राति गरिएको १० बुँदे सहमतिको मुख्य ध्येय अदालतमा विचाराधीन मुद्दालाई प्रभावित गर्नु रहेको बताएका छन्।
मंगलबार सुरु भएको केन्द्रीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक प्रस्तावमा उनले पार्टी एकता जोगाउनका लागि भनेर एमालेको तत्कालीन कार्यदलले गरेको सहमतिको नियत र भाषाको आलोचना गरेका हुन्।
'वार्तामा एकताको निम्ति सच्चा र इमानदार प्रयत्न होइन, जालझेल गरेर कथित दश बुँदे सहमति गरियो', प्रतिवेदनमा उल्लेख छ।
उनले त्यतिबेलाको वार्ता फगत नाटक, अलमल्याउने र फसाउने चाल मात्र थियो भनेका छन्।
'हामीले उठाएका मूलभूत विषयहरु, वैचारिक पक्ष, आलोचना र आगामी दिनमा अवलम्बन गरिने निर्णय प्रक्रिया र संगठनात्मक सवालमा केपी ओली आफैंले गरेको सहमति जस्ता विपयलाई छाडेर गरिएको कथित दश बुँदे सहमति केपी ओली पक्षको गम्भीर षडयन्त्रको परिणाम मात्र हो', प्रतिवेदनमा उल्लेख छ।
अध्यक्ष नेपालले उक्त सहमतिमा दुई प्रमुख नेताबीच सहमति गरेर मात्र अन्तिम निष्कर्षमा पुग्ने भन्ने कुरा समेत नराखिएको बताएका छन्।
सहमतिका दशवटै बुँदाहरु प्राविधिक प्रकृतिका रहेको उनको भनाइ छ। 'त्यसरी वैचारिक एवं राजनीतिक सवालमा प्रवेश नगरी केवल प्राविधिक बुँदामा मात्रै सहमति गरेर पार्टी एकता हुनसक्दैनथ्यो', प्रतिवेदनमा भनिएको छ, 'एकता भइहाले पनि दिगो हुँदैनथ्यो।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।