फाइल तस्वीर
काठमाडौं- एमालेको विवाद समाधानको लागि भन्दै गत असार २७ गते राति गरिएको १० बुँदे सहमतिलाई माधवकुमार नेपालले अदालतको फैसला प्रभावित पार्ने कुनियत भएको बताएका छन्। बिहीबार संसदीय दलको कार्यालयमा पदभार ग्रहण गर्दै एकीकृत समाजवादीका अध्यक्ष नेपालले मध्यरातमा हस्ताक्षर गर्नैपर्ने बाध्यता के थियो भन्दै प्रश्न गरे।
'१० बुँदे २७ गते राति १० बजे सही नगरी नहुने के बाध्यता थियो? थाहा छ?,' उनले प्रश्न गर्दै भने, '२८ गतेको सर्वोच्च अदालतको फैसलालाई प्रभावित पार्ने कुनियत लुकेको थियो। १० बुँदे भित्रको नियत के थियो भन्ने कुरा त्यसैले प्रष्ट पार्दैन? नभए १० बजे राति हस्ताक्षर गर्नका लागि हतार किन? जबकि त्यो अधुरो छ भन्ने कुरा सबैले भनिरहेका छन्। त्यहाँ दुइटा नेताको सहमतिको कुनै पनि कुरा छैन। चर्चै छैन।'
अध्यक्ष नेपालले प्रदेश सांसद, जनप्रतिनिधि र पार्टी कार्यकर्ताहरु कसैलाई पनि १० बुँदेको बारेमा गरिएको अपव्याख्याको आधारमा भ्रममा नपर्न आग्रह गरे।
केपी ओलीबाट प्रतिगमन गरियो र गल्ती गरियो भन्ने कहीँ पनि स्वीकारोक्ति नआएको नेपालको भनाइ छ। 'फागुन २८ गते एकतर्फी रुपमा गरिएको बैठक गलत ढंगले गरिएको थियो भन्ने कहीँ स्वीकारोक्ति छैन। केपी ओली सुध्रिने कहीँ लक्षण देखिँदैन। त्यसैले कुनै भ्रममा नपर्न म आग्रह गर्छु,' उनले भने।
नेपालले आफ्नो पार्टी माओवादीसँग मिल्छ, विलिन हुन्छ भन्ने जस्ता भ्रममा नपर्न पनि आग्रह गरे। 'हाम्रो पार्टी क्रान्तिकारी विचारको आधारमा निर्माण भएको छ। विद्रोह गरेर बनेको छ। हामीले विद्रोहको पहिलो शंख २०७७ चैत ४ र ५ गते फुकेका थियौं। त्यही दिनदेखि समानान्तर कमिटी बनाउने हामीले घोषणा गरेका थियौं। त्यही बेलादेखि हामीले समानान्तर भेलाहरु गरेका थियौं। प्रदेश इन्चार्ज र कमिटीहरु तोकेका थियौं। समानान्तर जिल्ला कमिटी बनाएका थियौं। तल्ला कमिटीहरु बनाएका थियौं। पहिलो विद्रोहको शंखघोष गरेका थियौं,' उनले भने।
उनले नेपालको राजनीतिमा जहिल्यै पनि विद्रोही नै अघि बढेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।