काठमाडौं– १३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता धावक गोपीचन्द्र पार्कीले नेपालगञ्ज म्याराथनको रुट उत्कृष्ट भएको बताएका छन्।
नेपालगञ्ज म्याराथनमा सबै खेलाडीले आफ्नो रेकर्ड ब्रेक गर्ने अवसर पाउने भएकाले सरकारले नेपालगञ्ज म्याराथनलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ।
गतवर्ष टोकियो ओलम्पिक २०२० को छनोटका रुपमा रहेको छैटौं धारा नेपालगञ्ज म्याराथनमा पार्कीले बाजी मारेका थिए। पार्कीले नेपालगञ्ज म्याराजन २ घण्टा १८ मिनेट ५९ सेकेण्डमा पूरा गरेका थिए।
क्रियटिभ ह्याण्डसको आयोजनामा हरेक वर्ष हुने नेपालगञ्ज म्याराथनलाई गतवर्ष टोकियो ओलम्पिकको छनोटका रुपमा मान्यता दिइएको थियो। यद्यपि, प्राविधिक कारण पार्कीले टोकियो ओलम्पिकमा भाग लिन पाएनन्। तर, पार्कीले सेप्टेम्बर २६ मा जर्मनीमा बर्लिन म्याराथनमा भाग लिने मौका पाएका छन्।
बर्लिन म्याराथनमा भाग लिन जानु अघि भएको बिदाई कार्यक्रममा पार्कीले नेपालगञ्ज रुट राज्यको प्राथमिकतामा पर्नुपर्ने बताए। क्रियटिभ ह्याण्ड्सका अध्यक्ष टीएस ठकुरीले पार्कीलाई सफलताको शुभकामना दिए ।
अध्यक्ष ठकुरीले नेपालगञ्ज म्याराथनको सातौं संस्करण नजिकिदै गर्दा पार्कीको बर्लिन म्याराथनको सहभागितालाई आफूहरू थप उत्साहित भएको बताए।
'यही अवसरमा हामीले उहाँलाई प्रोत्साहत स्वरुप केल्मीका टिसर्ट, ट्रयाकसुट, ब्याग प्रदान गरेका छौं। बर्लिन म्याराथनबाट फर्केपछि उहाँ (गोपीचन्द्र) यसपटकको सातौं धारा नेपालगञ्ज म्याराथनमा प्रतिस्पर्धाका लागि तयारीमा जुट्नु हुनेछ भन्ने हाम्रो विश्वास छ', ठकुरीले भने।
यसैबीच, राखेपका सदस्य सचिव रमेश सिलवालले पनि पार्कीलाई एक कार्यक्रममा विदाई गरेका छन्। पार्की मंगलबार बेलुका ८.४० बजे कतार एयरवेजबाट बर्लिन प्रस्थान गर्नेछन्। उनको प्रशिक्षकमा सन्तोष श्रेष्ठ रहेका छन्।
सदस्यसचिव सिलवालले खेलाडी बिदाइ गर्न नेपालगञ्जबाट क्रियटिभ ह्याण्ड्सको टोली काठमाडौं आउनु भावनात्मक सम्बन्ध भएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।