काठमाडौं- जर्मनीमा आगामी आइतबार हुने बिएमडब्लु बर्लिन म्याराथनमा सहभागिता जनाउने तयारीमा रहेका धावक गोपीचन्द्र पार्की र उनका प्रशिक्षक सन्तोष श्रेष्ठलाई विदाइ गरिएको छ।
एथ्लेटिक्स परिवार नेपालले सोमबार धावक पार्की र प्रशिक्षक श्रेष्ठलाई विदाइ गरेको हो।
नेपालमै दुई वर्षअघि भएको १३औं दक्षिण एसियाली खेलकुद (साग)का पदकधारी पार्कीलाई एथलेटिक्स संघका पूर्व अध्यक्ष रघुराज वन्त, एथलेटिक्स परिवार नेपालका सल्लाहकार ऋषी भण्डारी, अध्यक्ष राजन खत्री लगायतका पदाधिकारीहरुले खेल पोशाक र सामग्री प्रदान गरी विदाइ गरे।
नेपालगञ्ज म्याराथनका च्याम्पियन गोपी अन्तिम समयमा आएर जापानमा गत महिना सम्पन्न टोकियो म्याराथनमा सहभागिताबाट बञ्चित भएका थिए।
नेपाल ओलम्पिक कमिटी तथा नेपाल एथ्लेटिक्स संघले ओलम्पिक सुरु हुनुभन्दा १५ दिन पहिलामात्र म्याराथनमा नेपालले कोटा नपाएको भन्दै सरस्वती चौधरीलाई उनको स्थानमा जापान लगेको थियो।
त्यसपछि सञ्चारमाध्यममा तीव्र विरोध भएपछि ओलम्पिक कमिटी, खेलकुद परिषद र एथ्लेटिक्स संघले आगामी दिनमा अन्य अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताको वातावरण मिलाउने उनलाई आश्वासन दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।