काठमाडौं- विश्व प्रसिद्ध म्याराथन मध्येको एक बर्लिन म्याराथनमा धावक धर्म महर्जनले सहभागिता जनाउने भएका छन्। त्यसका लागि महर्जन बिहीबार जर्मनीको बर्लिन प्रस्थान गर्दैछन्।
महर्जनलाई दक्षिण एसियाली खेलकुद (साग) का कीर्तिमानी म्याराथन धावक बैकुण्ठ मानन्धर, पूर्व धावक एवं गीतकार बुद्धिवीर लामा, ट्रष्टका अध्यक्ष मनीषराज जोशीलगायतले बिदाइ गरे।
महर्जनले सेप्टेम्बर २६ तारिखमा हुने बर्लिन म्याराथन (४२.१९५ किलोमिटर) मा प्रतिस्पर्धा गर्नेछन्। महर्जन सहभागी हुने ४५ वर्षमाथिको उमेर समूहको म्याराथनमा करिब १० हजार धावकको सहभागिता रहने बताइएको छ।
महर्जनको यो समग्रमा ९औं अन्तर्राष्ट्रिय सहभागिता हो। यसअघि उनले अमेरिका, थाइल्यान्ड, जापान, नेदरल्यान्ड र चीनमा विभिन्न दूरीको दौडमा सहभागिता जनाइसकेका छन्। त्यसमा जापानमा भएको १८औं एसियाली मास्टर्स च्याम्पियनसिपमा महर्जनले कास्य जितेका थिए। जुन उनको करियरकै सबैभन्दा ठूलो उपलब्धि हो। महर्जनले तीन राष्ट्रिय एथलेटिक्स प्रतियोगिताको फुल म्याराथनतर्फ सहभागिता जनाइसकेका छन्।
महर्जनले बर्लिन म्याराथनमा २ घण्टा ४५ मिनेटमा दौड पूरा गर्ने लक्ष्य रहेको बताउँदै सहभागिताका लागि सहयोग गर्ने सबैप्रति आभार प्रकट गर्दै धन्यवाद दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।