श्रीमती जेलबाट छुटेको थाहा पाएको दिन उनी दु:खी भए। मन अमिलो भयो। एक पटक फेरि ती सारा घटना रिलझैं दिमागमा घुमे।
जेल परेकी आफ्नी श्रीमती छुट्दा कोही दुखी होस्! डर र त्रासमा होस्! रामराजा थापा क्षेत्रीको जीवनमा त्यस्तै भयो।
उनकी श्रीमती तीन वर्षका लागि जेल परेकी थिइन्। तिनले श्रीमान् रामराजालाई एसिड छ्यापिदिएकी थिइन्। तर, जेल परेको ६ महिनामा नै छुटिन्।
जेलबाट छुटेपछि श्रीमतीसँग रामराजाको भेट भएको छैन। भेट होस् भन्ने चाहेका पनि छैनन्। बरु नेपालको कानुन दखेर दिक्दारी लागेको छ। ‘बच्चा सानो छ भनेर ६ महिना जेल बसेपछि धरौटीमा छुटाएका रहेछन्,’ उनी भन्छन्, ‘अपराधीलाई यसरी अनेक बहानामा छाड्न मिल्छ र? हामीजस्ता एसिड पीडितले जिन्दगीभर घाउ बोकर हिँड्नुपर्छ। हाम्रो घाउमा किन राज्य संवेदनशील नभएको होला?’
प्रश्न त उनी आफ्नै जिन्दगीसँग पनि गर्छन्। त्यो दिन घर छाडेर नहिँडेको भए आज यस्तो हालतमा पुग्दैन थिएँ कि भन्ने मनमा लागिरहन्छ। पढ्दापढ्दै उनी कमाउन भनेर काठमाडौँ हानिएका थिए।
उनको स्थायी घर नुवाकोटस्थित विदुर नपा–१३ मा छ। घर छाडेर २०६५ सालमा काठमाडौँ आए। तर, काठमाडौँमा काम पाउन गाह्रो भयो। अनि सवारी साधन चलाउन सिके। त्यसपछि काठमाडौँबाट पूर्वतिर जाने माइक्रो चलाउन थाले।
आम्दानी ठीकै हुन थालेपछि २०६९ सालमा बिहे गरे। त्यसको सात वर्षपछि २०७६ सालमा छोरो जन्मियो। परिवार खुसी नै थियो। तर, त्यही साल उनको वैवाहिक जीवनमा पूर्णविराम लाग्यो।
आशंकाले अपराध
सामाखुसीस्थित विनायक अस्पतालमै रामराजा थापा क्षेत्रीले होस् हराइसकेका थिए। विनायक अस्पतालले उनीमाथि एसिड छ्यापिएको भन्दै टिचिङ अस्पताल (त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज) रिफर गरिदियो। त्यहाँ होसमा आउँदा उनको अनुहारको दायाँ भाग र दाहिने खुट्टामा ब्यान्डेज थियो। ती ठाउँ भत्भती पोलिरहेका थिए।
उपचारका लागि उनी करिब ६ महिना टिचिङ अस्पतालमै बसे। उनको दुवै कान, आँखा, दाहिने हात र दाहिने खुट्टामा एसिड परेको थियो। कान, आँखा र अनुहारको आठ पटक शल्यक्रिया भइसकेको छ। अझ कति गर्नुपर्छ यकिन छैन।
ती दिन उनलाई सम्झनै मन छैन। तर, बिर्सिन पनि सक्दैनन्। आफ्नै श्रीमतीले किन एसिड छ्यापिन् भन्ने प्रश्नको उनीसँग स्पष्ट जवाफ छैन। खाली आशंका मात्र छ।
उनले करिब ११ वर्ष श्रीमतीसँगै जीवनको गाडी चलाए। उनको कमाइ ठीकै थियो, खान लाउन पुग्ने। उनले कान्छो सालो (श्रीमतीको कान्छो भाई)लाई गाडीमा सहयोगी बनाएका थिए। दुवै सँगै हुन्थे।
उनी बालाजु माछापोखरी नजिकै भाडामा बस्थे। बाबुआमा गाउँमै बस्थे। श्रीमतीलई बाबुआमासँग नराखी आफैँसँग राखेका थिए।
त्यो दिन २०७६ फागुन २५, नारी दिवस परेको थियो। उनी पूर्वबाट अबेला गरी आइपुगे। गाडी नियमित ठाउँमा पार्क गरे। अनि कान्छो सालो र उनी कोठामा गए। उता ससुराली गाउँ धादिङबाट जेठो सालो पनि सामान लिन आएका रहेछन्।
खाना खाएपछि रामराजा सुत्नका लागि ओछ्यानमा गए। झ्याल बन्द थियो। उनको तीन महिनाको छोरो झ्यालतिर सुतेको थियो। राति १२ बजे काम सकाएर श्रीमती पनि सुत्न आइन्। श्रीमती बीचमा र उनी छेउमा सुत्थे।
बत्ती निभाइएको थियो। उनी तन्द्रामा थिए। एक्कासी उनलाई तातोपानीले पोलेजस्तो भयो। लगत्तै सहनै नसक्ने भयो, अनि चिच्याए। त्यसपछि दुवै साला उठे। बाथरुममा लगेर पानी खनाइदिए। तर, पोलाइ कम भएन। झन्झन् पीडा हुन थाल्यो।
बल्ल उनलाई आफूमाथि एसिड खनाइएको आशंका भयो। सालाहरुले सामाखुसीस्थित विनायक अस्पताल लगे। त्यहाँ प्रारम्भिक उपचार भयो। त्यति बेलासम्म उनको कानले सुन्न छाडिसकेका थिए, आँखा पनि बन्द थिए। उनले होस् गुमाए।
अझै पनि उनीमाथि एसिड आक्रमण गरेको श्रीमतीले स्वीकारेकी छैनन्। तर, श्रीमतीले नै छ्यापेको हो भन्नेमा उनी निश्चिन्त छन्। त्यसको वास्तविक कारण खुलेको छैन। उनी भन्छन्, ‘म गाडी चलाएर हिँड्ने मान्छे। ममाथि शंका गरेर यस्तो गरेकी हुन्। तर, शंका गर्नुपर्ने ठाउँ थिएन। म कतै लागेको भए उनको भाइलाई थाहा भइहाल्थ्यो। भाइले त दिदीलाई भन्थ्यो होला नि!’
श्रीमतीले आवेगमा आएर नभइ योजनाबद्ध ढंगले आफूलाई एसिड खनाएको उनको भनाइ छ। श्रीमतीको दाबी बाहिरबाट कसैले छ्यापेर भाग्यो भन्ने छ। तर, त्यसमा उनलाई पत्यार छैन।
‘न झ्याल खुला छ, न त ढोका। मेरो शरीरबाहेक कतै एक थोपा एसिड चुहिएको छैन। कोठामा श्रीमती र दुधेबालक मात्र छन्,’ उनी भन्छन्, ‘उसले भनेजस्तो बाल्टीमा ल्याएर बाहिरबाट फाल्न त झ्याल खुला हुनुपर्छ, त्यसरी फाल्दा सँगै सुतेका बच्चा र ऊ कसरी जोगिन्छन्?’
पूरै परिवार डुब्यो ऋणमा
एसिड आक्रमणमा परेर अस्पतालमा ६ महिनासम्म बिताउनुपर्दा उनी निकै निराश थिए। उनलाई अब बाँच्दिन भन्ने लागेको थियो। उपचारमा पैसा पनि धेरै नै खर्च भइसकेको थियो। घाउको पीडा छँदै थियो। शरीर पनि पहिलेको जस्तो थिएन।
तर, उनलाई साथ दिन अस्पतालको बेडमा नै आइपुगे, उज्ज्वलविक्रम थापा। उनको ढाडसले अस्पतालको बेडमा साँघुरिएको जीवन केही फराकिलो भएको महसुस भयो। उज्ज्वलविक्रम एसिड पीडितका सहयोगी हुन्। उनले रामराजा मात्र नभइ अरुको पनि उपचार र पुनःस्थापनामा सहयोग गरेका छन्।
उपचारकै लागि रामराजाको करिब ९ लाख रुपैयाँ खर्च भइसकेको छ। उनको परिवार सामान्य आर्थिक अवस्थाको छ। तर, परिवारले ऋण काढेर उपचार गराइरहेका छन्।
उनका दुई दाजु पनि काठमाडौँमा नै काम गर्छन्। दाजुहरुले आर्थिक सहयोग जुटाएर खर्च टारिदिइरहेका छन्। उनकै कारण पूरै परिवार ऋणमा डुबेको छ।
अहिले उनी महान्यायाधिवक्ताको कार्यालयमा कार्यालय सहयोगी छन्। उज्ज्वलविक्रमकै पहलमा तत्कालीन महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले करारमा जागिर लगाइदिएका हुन्।
उनको तलब २१ हजार ५०० रुपैयाँ पुगेको छ। कोठा भाडामा लिएर एक्लै बस्छन्। कार्यालय आउँदा कहिले दाजुले ल्याइदिन्छन्, कहिले कार्यालयकै गाडीले ल्याइदिन्छ। सार्वजनिक यातायातमा पनि आउँछन्।
उनको शरीरले घाम थेग्न सक्दैन। डाक्टरले पनि घामबाट जोगिन भनेका छन्। तर, कार्यालयको चिठीपत्र पुर्याउन बाहिर जानुपर्छ। त्यति बेला समस्या हुन्छ। त्यैपनि यो जागिर उनका लागि जीवन चलाउने सहारा भएको छ। उनको एउटै चाहना छ– जागिर करार होइन, स्थायी होस्।
अब उनी पहिलाकै काममा फर्कन सक्दैनन्। त्यो त सपनाजस्तै भएको छ। उपचार निरन्तर जारी राख्नुपर्ने भएकाले अहिले खाइरहेकै जागिरको भर छ, उनलाई। उपचारमा लागेको ऋण भने तिर्न सकेका छैनन्।
उनको सरकारसँग एउटै माग छ– औषधि खर्चका लागि आर्थिक सहयोग होस्। ‘यो मेरो मात्र समस्या होइन, हामी सबै एसिड पीडितको समस्या हो। औषधिको बिल पेस गरेर पैसा दिने व्यवस्था होस्,’ उनी भन्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।