काठमाडौं– मलेसिया सरकारले आप्रवासी कामदारको बढ्दो चाप नियन्त्रण गर्न करार अवधि सकिएका विदेशी कामदारको भिसा करार नवीकरणमा रोक लगाउने जनाएको छ। मलेसियाका नयाँ गृहमन्त्री तान श्री मुह्दिद्दिन यासिनले अघिल्लो वारिसन नेसनल गठबन्धन नेतृत्वकोे सरकारका पालमा असामान्य उपायहरुद्वारा गरिएको आप्रवासी कामदारको ‘रिहाइरिङ’ कार्यक्रम उचित नभएको भन्दै उक्त कार्यक्रममा परिवर्तन गरी नयाँ नीति लागू गर्ने बताएका हुन्।
रिहाइरिङ मार्फत वैधानिकता दिइएका आप्रवासी कामदारलाई पुनः रोजगारी दिँदा व्यवस्थापनमा समस्या हुँदै गएको जनाउँदै गृहमन्त्री यासिनले विदेशी कामदारले मलेसिया छोड्न अटेर गर्ने गरेको बताए। रिहाइरिङ कार्यक्रमका कारण आप्रवासी कामदारको अत्यधिक आपूर्ति हुँदै गएको उनको बुझाइ छ।
मलेसियाले जारी राखेको रिहाइरिङ कार्यक्रम सन् २०१८ जुन ३० मा सकिँदैछ। सन् २०१६ देखि सुरु भएको रिहाइरिङ कार्यक्रममा ७ लाख ४४ हजारभन्दा बढी आप्रवासी कामदार सहभागी भएका थिए। जसमा ८३ हजार ९ सयलाई रिहाइरिङ प्रोग्रामबाट पुनः रोजगार अनुमति दिइएको थियो। रिहाइरिङ प्रोग्राममार्फत नै धेरै नेपाली कामदार स्वदेश फर्किएका छन्।
यसै महिनाको अन्त्यसम्म अवैध रुपमा बसेर काम गरिरहेका कामदार दर्ता गर्न दिइएको समय अन्तिम भएको भन्दै गृहमन्त्री यासिनले जुलाईदेखि नै अवैध रुपमा बसेर काम गरिरहेका विदेशीलाई स्वदेश डिपोर्टेसन र धरपकड तीव्र पारिने संकेत गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।