काठमाडौं– नेपालका सञ्जीव नेपालीले १४औं फ्लोरिडा ओपन अनलाइन तेक्वान्दो च्याम्पियनसिपमा पुम्सेतर्फ २ स्वर्ण पदक जितेका छन्।
फ्लोरिडाको ओङ तेक्वान्दो एकेडेमीको आयोजना भएको च्याम्पियनसिपमा सञ्जीवले ३० देखि ४० वर्ष मुनि उमेरसमूहको स्पोर्ट्स र ट्रेडिसनल पुम्सेमा स्वर्ण जितेका हुन्।
सञ्जीवले स्पोर्ट्सतर्फ अमेरिकाका क्लेभ कोलाडोलाई हराउँदै स्वर्ण जितेका हुन्। सञ्जीवले ६ अंक बटुल्दा क्लेभले ४.९३४ अंक जोडेका थिए।
प्रेम दर्नालले ट्रेडिसनल पुम्सेमा स्वर्ण जित्दा स्पोर्ट पुम्सेमा भने रजत पदकमै चिक्त बुझाए। स्पोट्र्स पुम्सेमा स्विट्जरल्यान्डका डे फ्रेइटा फान्कोईले प्रेमलाई पछि पार्दै स्वर्ण जिते। फ्रान्कोईले ६.५१ अंक बटुल्दा प्रेमले ५.८१ अंक जोडेका थिए।
यसै च्याम्पियनसिपमा नेपालका अर्की खेलाडी सन्दीपा अमगाईंले स्पोर्ट्स पुम्सेमा कास्य र ट्रेडिसनल रजत पदक जितिन्। स्पोर्टस् पुम्सेमा स्वर्ण विजेता अमेरिकाकी नाटलिया मुनेटनले ६.९६ अंक र रजत विजेता फ्रान्सकी ज्लाटकोभिच टमराले ६.१५ अंक बटुलेका थिए।
सन्दीपाले भने ५.४५ अंक जोडेपछि कास्य पदकमा खुम्चिन बाध्य भइन्। ट्रेडिसनलतर्फ भने उनी रजत पदक जित्न सफल भइन्। गत सेप्टेम्बर ११ देखि भएको च्याम्पियनसिपमा नेपालसहित अमेरिका, फिलिपिन्स, अस्ट्रेलिया, फ्रान्स, स्विट्जरल्यान्ड र स्लोभानियालगायत राष्ट्रका खेलाडीले प्रतिस्पर्धा गरेका थिए।
१४औं संस्करण भने अनलाइनमा हुँदा पुम्से, भर्चुअल स्पाइरिङ, स्पिड किकिङ, ब्रेकिङ, विपन र पारा तेक्वान्दोको प्रतिस्पर्धा भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।