काठमाडौं– हातमा कागजपत्र बोकेर मञ्जु परियार बुद्धनगरस्थित वैदेशिक रोजगार विभागको झ्यालबाहिर उभिएकी छन्। कार्यालयका कर्मचारी खाजा खान बाहिरिएका छन्। काम सकेर बनेपा पुग्नुपर्ने हतारो भएकाले उनी छटपटीमा छिन्।
तर, त्योभन्दा ठूलो चिन्ता भने उनलाई विदेश पठाइदिने नाममा ठग्नेलाई कारबाही होला कि नहोला भन्ने छ। उनलाई त आफ्नै मान्छे लागेर ठगे। त्यही उजुरी बोकेर उनी विभाग पुगेकी हुन्।
वैदेशिक रोजगारमा रहेकी मञ्जु गएको २५ चैतमा दुबईबाट घर आइन्। नेपाल आउँदा कोरोना संक्रमणको दोस्रो लहर सुरु भइसकेको थियो। त्यसको केही समयपछि निषेधाज्ञा सुरु भयो।
काभ्रेको कोशीपारिकी उनी दुबईमा गरिरहेको काम छाडेर नेपाल आएकी हुन्। उनी चार वर्षअघि दुबई पुगेकी थिइन्। हाउस किपिङको काम थियो। तर, चित्त बुझ्दो कमाइ थिएन। त्यसैले अब नयाँ कामका लागि जाने योजनामा थिइन्।
मञ्जु अहिले बनेपामा कोठा भाडामा लिएर १८ वर्षीय छोरासँग बस्छिन्। श्रीमानले करिब १० वर्षअघि दोस्रो बिहे गरेपछि उनी छुट्टै बस्न थालेकी हुन्। दुःख गरेर जीविका चलाउने र छोरो पढाउने गर्थिन्। जति काम गरे पनि दुई ज्यान पाल्न नै धौ–धौ थियो। त्यहीकारण उनी २०७४ सालमा वैदेशिक रोजगारका लागि उडिन्।
१ लाख रुपैयाँ दिँदा गरिएको कागज।उता पनि महिनावारी कमाइ करिब ३० हजार रुपैयाँ मात्र थियो। खान र बस्न पाउँथिन्। तर, विदेशी भूमिमा पनि राम्रो कमाइ भएन। त्यसैले छाडेर आइन्। अब राम्रो काम पाउनेबित्तिकै दुबई फर्कने योजना थियो। ‘यता बस्नु भनेको खर्च मात्र बढ्नु हो। तर, त्यस्तै भयो। निषेधाज्ञाले उता जान रोकिएपछि यता खर्च बढेको बढ्यै छ,’ उनी भन्छिन्।
उनले दुबई जाने प्रयास भने जारी राखिरहिन्। भाइ (सानिमाको छोरा) निकेश सुन्दाससँग राम्रो म्यानपावर खोजिदिन भनिन्। निकेशले पनि आफू १५ दिनभित्रै वैदेशिक रोजगारमा जान लागेको बताए। उनले मञ्जुलाई त्यही म्यानपावरमा पुर्याए।
उनले भाइसँग गएर काभ्रेको बनेपा–८ मा रहेको इनर्जी मल्टीपर्पस कम्पनीका सञ्चालक अदीपबहादुर खड्कालाई भेटिन्। स्वाथ्य जाँचका लागि ७ हजार रुपैयाँ तिरिन्। पुलिस रिपोर्ट बनाइन्। ४५ दिनभित्र उड्नका लागि म्यानपावरले २ लाख २५ हजार रुपैयाँ चाहिने बताएको थियो। १५ दिनभित्रै भिसा लगाउन भने ३ लाख २५ हजार रुपैयाँ मागियो। भाइसँगै उड्नका लागि उनले भनेजति पैसा दिने भइन्।
पासपोर्ट र सबै कागजात २४ असारमा नै बुझाइन्। त्यसको पाँच दिनपछि २९ असारमा अग्रिम भुक्तानी स्वरुप १ लाख रुपैयाँ पनि दिइन्। म्यानपावर कम्पनी सञ्चालक खड्काले १५ भदौसम्ममा दुबई पठाइसक्ने बताए।
उड्ने दिन नजिकिँदै गर्दा भाइ निकेशले दुबईमा कामका लागि मान्छे लिन बन्द गरेको बताए। उनी छाँगाबाट खसेजस्तै भइन्। आफू यसअघि नै वैदेशिक रोजगारमा दुबई गइसकेकी हुनाले अब उनलाई शंका लाग्यो। उनले भाइसँग पैसा फिर्ता लिने बताइन्।
‘मैले पैसा फिर्ता मागिदिन भनेपछि भाइले उल्टासुल्टा कुरा गर्न थाले। यसअघि मलाई दुबईको रेष्टुरेन्टमा काम गर्ने भनेर अफर लेटरसमेत थमाएका थिए। तर, अफर लेटरमा न कसैको नाम छ, न कुनै इमेल ठेगाना छ,’ मञ्जु भन्छिन्।
म्यानपावर सञ्चालक अदीपले भने उनको फोन उठाउनै छाडेका छन्। भाइ निकेशले पनि अचेल फोन उठाउँदैनन्। ‘अनि मलाई पक्का भयो कि मेरो पैसा दलालले खाइदियो। त्यसपछि म उजुरी दिन टेकुको प्रहरी कार्यालय गएँ। तर, म्यानपावर कम्पनी र म आफू पनि काभ्रेको भएकाले उतै उजुरी गर्न भनेर पठाइदिए,’ उनी भन्छिन्।
त्यसपछि उनी उजुरीका लागि वैदेशिक रोजगार विभाग पुगेकी हुन्। विभाग पुगेपछि पो थाहा पाइन्, उनले दुबई जान पैसा बुझाएको म्यानपावर कम्पनीको कामै ठगी धन्दा रहेछ। कम्पनी दर्ता रहेनछ। केही दिनअघि मात्र कम्पनीका सबै कम्प्युटर उठाएर विभागले ल्याएको रहेछ। उनी भन्छिन्, ‘त्यो त म्यानपावर कम्पनी नै होइन रहेछ। वैदेशिक रोजगारीमा पठाइदिन्छु भनेर धेरैलाई ठगिसकेको रहेछ।’
उनले पासपोर्ट भने फिर्ता पाएकी छन्। ‘भाइले नै आफन्तको हातमा पासपोर्ट फिर्ता पठायो, तर पैसा पाएको छैन,’ उनी भन्छिन्, ‘म्यानपावरको मान्छेलाई फोन गर्दा एउटी महिलालाई बोल्न लगाउँछ र जसलाई दिएको हो, उसैसँग पैसा फिर्ता माग्न भन्छ। तर, पैसा हातमा दिएको भाइ सम्पर्कमा छैन।’ पैसा माग्दा उल्टै धम्की सहनु परको उनले बताइन्।
विभागमा उजुरी त दिइन्, तर सरकारी प्रक्रिया सुस्त हुने कारण उनी निराश छिन्। यहीकारण फेरि दुबई जान पाएकी छैनन्। ‘मैले विदेशमा पसिना बगाएको पैसा जसरी पनि उठाउनु पर्यो नि, मेरो त चार वर्षको कमाइ हो,’ उनी भन्छिन्, ‘तर, सरकारी संयन्त्रको ढिलासुस्तीले मजस्ता धेरैले दुःख पाइरहेका रहेछन्। विभागमा त मजस्ता मान्छेको लाइन हुँदो रहेछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।