काठमाडौं- काठमाडौं जिल्ला तेक्वान्दो संघले टोकियो पारालिम्पिकमा उत्कृष्ट प्रदर्शन गर्दै इतिहास रचेकी तेक्वान्दो खेलाडी पलेशा गोबर्द्धनलाई शनिबार १० हजार नगदसहित सम्मान गरेको छ।
सोही अवसरमा नेपाली पारालिम्पिक टोलीका प्रशिक्षक कविराज नेगी लामा र व्यवस्थापक दीपक विष्टलाई पनि प्रशंसा पत्रद्वारा सम्मान गरिएको थियो। बागमती प्रदेश खेलकुद परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारी, नेपाल तेक्वान्दो संघका उपाध्यक्ष भरत महर्जन, बागमती प्रदेश तेक्वान्दो संघका अध्यक्ष केशव पुरी, काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष अशोक खड्कालगायतले उनीहरुलाई सम्मान गरे।
सोही अवसरमा तेक्वान्दो संघका उपाध्यक्ष महर्जनले व्यक्तिगतरुपमा पलेशालाई एक लाख रुपैयाँसहित सम्मान गर्ने प्रतिबद्धता जनाए।
कार्यक्रममा काठमाडौं जिल्ला तेक्वान्दो संघमा मनोनीत उपाध्यक्ष राजेन्द्र पुजारी, सहसचिव मनोजकुमार शाह तथा सदस्य घनश्याम कार्की, सानुबाबु महर्जन, दशरत्न शाही र लालबहादुर मगरलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराइएको थियो।
हालै सम्पन्न १० औं कोरियन एम्बासडर 'भर्चुअल' राष्ट्रिय पुम्से प्रतियोगिताको आ-आफ्नो विधामा उत्कृष्ट घोषित काठमाडौंका खेलाडी मूलपानी तेक्वान्दो डोजाङका भिजन तामाङ र मधुसुदन सापकोटा, काटेश्वर तेक्वान्दो डोजाङकी सन्ध्या लामा तथा स्युचाटार तेक्वान्दो डोजाङका राम गोले र लक्ष्मण गोलेलाई पनि प्रशंसापत्रबाट सम्मान गरिएको थियो।
ललितपुर र भक्तपुर जिल्ला तेक्वान्दो संघका नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरु पनि सोही अवसरमा सम्मानित भए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।