काठमाडौं- सुजित बिडारीको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘ऐना झ्यालको पुतली’ चेक रिपब्लिकको जलिन फिल्म फेस्टिभलमा प्रदर्शन हुने भएको छ।
बुसान वल्र्ड प्रिमियरमा प्रदर्शन भएको उक्त फिल्म जलिन फिल्म फेस्टिबलमा अप्रतिस्पर्धी विद्यामा छनोट भएको निर्देशक बिडारीले जानकारी दिएका हुन्।
युवापुस्ता केन्द्रित रहेको जालिन फिल्म फेस्टिबलमा छनोट भएको ‘ऐना झ्यालको पुतली’ एक युवतीको सपनामा केन्द्रित भएर निर्माण भएको छ।
दुई दिदीभाइको कथामा आधारित रहेर बनेको फिल्ममा शहर गएर पढ्ने चाहना बोकेकी दिदीलाई सहर पठाउन भाइले गरेको संघर्षलाई प्रस्तुत गरिएको छ।
कविता लेख्न रुचाउने १३ वर्षकी विद्या आफू बसिरहेको रुढिवादी समाज छाडेर सहरमा पढ्ने सपना देख्छिन्। एक्लि आमासँग उनी र उनको ९ वर्षको भाइ बसन्त बस्ने गरेका हुन्छ्न। तर, आफ्नो स्कुलको परीक्षामा पहिलो स्थान हासिल गर्न नसकेपछि उनको छात्रवृत्ति खोसिन्छ।
आफ्नो सपना गुमाएकी दिदीलाई देखेपछि उनको भाइले विद्याको सपना पुरा गर्न गरेको संघर्षलाई फिल्ममा देखाइएको छ।
बिडारीको निर्देशन तथा लेखनसँगै कथामा बनेको फिल्मलाई ‘आइसफल प्रोडक्सन’ले निर्माण गरेको हो। फिल्ममा कञ्चन चिमरिया, दिनेश खत्री, सिरु विस्ट लगायतको अभिनय रहेको छ। फिल्मलाई किरन श्रेष्ठले सम्पादन गरेका हुन भने यसमा संगीत पुष्पसंगमले दिएका छन्।
‘सावित्री’ फिल्ममार्फत विभिन्न अन्तराष्ट्रिय फिल्म महोत्सवमा भाग लिएका बिडारीको ‘ऐना झ्यालको पुतली’ डेभ्यु फिचर फिल्म हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।