काठमाडौं– नेपाली राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले प्राकृतिक मैदानमा अभ्यासको कमीले क्षमता अनुसार प्रर्दशन गर्न नसकेको बताएका छन्।
बिहीबार बंगलादेशसँग पहिलो मैत्रीपूर्ण खेलमा नेपालले २–१ गोल अन्तरको जित निकालेको छ। नेपालका लागि फरवार्ड सविता राना र मिडफिल्डर प्रिति राईको डेब्यू खेलमै गोल गरेकी थिइन्।
प्रशिक्षक फिलिप्सले खेलाडीको प्रर्दशनबाट आफू सन्तुष्ट भए पनि क्षमता अनुसारको खेल खेल्न नसकेको स्वीकारे।
‘कृतिम मैदानमा मात्र हामीले तयारी गरेका थियौं। प्राकृतिक मैदानमा मात्र तीन सेसन अभ्यास गर्न सक्यौं। मैदान भिजेको भएर खेल्न निकै गाह्रो भयो,’ उनले भने।
यता, बंगलादेशका प्रशिक्षक गोलाम छोटनले भने आफ्ना खेलाडीको प्रर्दशनबाट सन्तुष्ट भएको बताएका छन्।
‘लामो समयपछि मैदान उत्रिएका हौं। दोस्रो हाफमा खेलाडीले राम्रो खेले। पहिलो हाफमा दुई गल्ती गर्यौं जसका कारण गोल खायौं,’ उनले भने।
खेलको पहिलो १० मिनेट नेपाललाई दबाबमा राखेको बंगलादेशले १३औं मिनेटमा पहिलो गोल खाएको थियो। नेपालका लागि सिनियर टोलीमा डेब्यू गरेकी सविता रानाले पहिलो गोल गर्दै अग्रता दिलाएकी थिइन्। उनले डिबक्स बाहिरबाट बिमला चौधरीले दिएको पासमा हेडर गोल गरेकी थिइन्।
२३औं मिनेटमा नेपालले अग्रता दोब्बर बनायो। सिनियर टोलीबाट डेब्यू गरेकी प्रीतिले वान भर्सेस वानमा गोल गरिन्। उनले सरु लिम्बुले दिएको पासमा बंगलादेशकी गोलरक्षक रुपना चक्मालाई बिट गर्दै खाली पोस्टमा गोल गरिन्।
प्रशिक्षक छोटनले मात्र ६ हप्ताको प्रशिक्षणबाट टिम मैदान उत्रिएको बताउँदै दोस्रो खेलमा सुधारिएको प्रर्दशन गर्ने अपेक्षा गरे।
‘गल्तीबाट सिक्नेछौं। बल बलियो र राम्रो भएर दोस्रो खेलमा फर्कनेछौं,’ उनले भने।
उज्वेकिस्तानमा आयोजना हुने एएफसी महिला एशियन कप–२०२२ छनोटको तयारीमा रहेको नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेलेको हो।
यो खेल नेपाली महिला टिमले दशरथ रंगशालामा खेलेको पहिलो खेल हो। सन् १९८६ देखि अन्तर्राष्ट्रिय फुटबल खेल्न थालेको महिला फुटबल टोलीले दशरथ रंगशालामा खेल्ने अवसर पाएको थिएन।
एशियन कप छनोटमा नेपाल समूह ‘एफ’ मा रहेको छ। नेपालको समूहमा फिलिपिन्स र हङकङ छन्।
नेपालले फिलिपिन्ससँग खेल्दै एसियन कप छनोटको सुरुवात गर्नेछ। नेपाल र फिलिपिन्सबीचको खेल आगामी असोज २ गते हुनेछ।
यस्तै, नेपालले दोस्रो खेल असोज ५ गते हङकङसँग सामना गर्नेछ। समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।