काठमाडौं– सरकारले अध्यादेशमार्फत ल्याइएको बजेट परिमार्जन गरी ल्याउन लागिएको प्रतिस्थापन विधेयक पारित गर्न एमालेले अस्वीकार गरेको जनाएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले ल्याएको बजेटलाई परिमार्जन गरेर सरकारले प्रतिस्थापन विधेयक ल्याउन लागेपनि एमालेले त्यसलाई 'स्वीकार गर्न नसकिने' भनेको सरकारका प्रवक्ता एवम् कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी दिए।
मन्त्री कार्कीले अघिल्लो सरकारले ल्याएको बजेट परिमार्जनसहित पारित गर्नका लागि प्रतिस्थापन विधेयक तयार गरिएको र विधेयक संसदबाट पारित गर्ने विषयमा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल भएको जानकारी दिए। केही दिन अगाडि आफूले एमाले अध्यक्ष ओलीलाई भेटेर संसदका केही नियम निलम्वन गरेर बजेट पारित गर्ने प्रस्ताव राखेको कार्कीले जानकारी दिए।
तर, ओलीले भने प्रतिस्थापन विधेयक पारित गर्न नमानेको कार्कीको भनाइ छ। ‘वजेटको प्रतिस्थापन विधेयक पारित गर्न संसदको केही नियम निलम्वन गरौं भनेको एमाले तयार भएन,’ सोमबार मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग बोल्दै कार्कीले भने, ‘२३ गतेदेखि संसद सुरु हुँदै छ मलाइ आस छ हामी बजेट पारित गर्छौं।’
साउनदेखि कार्यान्वयनमा जानुपर्ने बजेट संसदबाट पारित भइसकेको छैन। अघिल्लो सरकारले बजेट पेश गर्नुपर्ने केही दिन अघि प्रतिनिधी सभा विघटन गर्दै अध्यादेशबाट बजेट ल्याएको थियो।
संविधानमा प्रतिनिधि सभामा बजेट पेस गर्नुपर्ने व्यवस्था भएपनि ओली नेतृत्वको अघिल्लो सरकारले संविधानको सोही व्यवस्थालाई छल्न संसद विघटन गर्दै अध्यादेशबाट बजेट ल्याएको थियो।
सर्वोच्च अदालतले संसद विघटनको निर्णय बदर गर्दै बहुमत सांसदको मागदाबीअनुसार कांग्रेस सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त गर्न परमादेशको आदेश जारी गरेको थियो।
सर्वोच्चको आदेशपछि गठन भएको देउवा नेतृत्वको वर्तमान सरकारले ओली नेतृत्वको अघिल्लो सरकारले अध्यादेशमार्फत ल्याएको बजेट परिमार्जन गर्दै नयाँ बजेट ल्याउने तयारी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।