काठमाडौं– नख्खु कारागारमा आइतबार भएको झडप साम्य भएको दाबी गरिएको छ। ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले आइतबार भएको झडप सामान्य भएको दाबी गरे।
सोमबार उक्त घटनाबारे गृहमन्त्री बालकृष्ण खाणले टेलिफोन गरेर प्रमुख जिल्ला अधिकारी निरौलासँग जानकारी लिएका थिए। सो क्रममा उनले कारागारमा आइतबार दिउँसो चौकिदारहरूको विरोधमा कैदीबन्दीले नारावाजी गरेको र रातभरमा दुवै समूहबीच सहमति गराएर अवस्था सामान्य बनाएको जानकारी मन्त्री खाणलाई गराएको गृहमन्त्रीको सचिवालयले जनाएको छ।
‘नख्खु कारागारमा देखिएको अवस्थाबारे मन्त्रीले जानकारी लिनुभएको थियो,’ गृहमन्त्रीको सचिवालयले भन्यो, ‘केही अवस्था असहज देखिएको थियो। अहिले सहमतिमा सामान्य बनाएको जानकारी गराए।’
घटना साम्य भएको भनिए पनि छानिबिन गर्न र आन्तरिक सुधारका लागि सुझाव दिन समिति गठन गरिएको छ। कारागार व्यवस्थापन विभागका निर्देशक रामचन्द्र तिवारीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन भएको छ। समितिले छानबिन गरेर प्रतिवेदन पेश गरेपछि कामकारबाही अघि बढाइने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।