काठमाडौं- अभिनेत्री वर्षा सिवाकोटीले हात्तिवनस्थित सिटी स्केप्टमा अपार्टमेन्ट खरिद गरेको खबर यतिबेला चर्चामा छ। सिवाकोटीले थ्री बीएचकेको अपार्टमेन्ट साढे दुई करोड रुपैयाँमा किनेकी छन्। उनी बुधबार मात्रै आफ्नी आमासँग अपार्टमेन्टमा सरेकी छन्।
आफ्नो लामो योजनापछि मात्रै अपार्टमेन्ट किन्नसकेको सिवाकोटी बताउँछिन्। काठमाडौंमा हुर्किएकी उनी लामो समय सीतापाइलामा आफ्नो संयुक्त परिवारमा बस्दै आएकी थिइन्। केही समययता उनको बसाइ कौशलटारमा थियो।
‘मैले लामो समयसम्म संघर्ष गरेर यहाँ अपार्टमेन्ट किनेकी हुँ,’ सिवाकोटी भन्छिन्, ‘पहिले सीतापाइला परिवारसँग बसियो। अब यता सरेका छौं। नयाँ अपार्टमेन्ट लिने एक वर्षदेखिको योजना थियो।’
सिवाकोटी आफूले लामो समयसम्म संघर्ष गरेपछि मात्रै यो अवस्थामा आइपुगेको बताउँछिन्। उनी भन्छिन्, ‘लामो समयसम्म विस्तारै-विस्तारै लगानी गर्दै यहाँसम्म आएको छु। पूराना दिनहरु र अहिलेका दिनहरु सम्झिँदा राम्रो लाग्छ।’
आफूले घर किन्नदेखि घरमा चाहिने सबै सामान जुटाउन निकै गाह्रो भएको बताउँछिन् सिवाकोटी। परिवारसँगै साथीभाइको सहयोगले मात्रै अपार्टमेन्ट खरिद गर्न सकेको बताउँछिन् उनी। भन्छिन्, ‘मान्छेले देख्नेभन्दा निकै गाह्रो हुन्छ। परिवारको सहयोगले मात्रै यो अपार्टमेन्ट किन्न सकेँ।’
अपार्टमेन्टमा आफू र आमा बस्ने उनले बताइन्।
फिल्ममाजस्तै म्युजिक भिडियोमा पनि भ्याइनभ्याइ हुने अभिनेत्री हुन्, सिवाकोटी। कोरोनाका कारण उनले अभिनय गरेका ‘परदेशी २', 'मन देखि मनसम्म', 'ए साथी सुन' लगायतका फिल्महरु प्रदर्शन कुरिरहेका छन्। कोरोनाकालयता उनी निरन्तर म्युजिक भिडियोमा देखिएकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।