नेपालगञ्ज- बर्दिया गुलरिया नगरपालिकाको लालपुरमा सोमबार बिहान साढे ९ बजेदेखि लागेको कर्फ्यु हटेको छ। जिल्ला सुरक्षा समितिको बैठकले स्थिति सामान्य भएको निष्कर्षसहित आज बिहान ९ बजेदेखि कर्फ्यु आदेश हटाउने निर्णय गरेको हो। कर्फ्यु हटे पनि लालपुरको सुरक्षा व्यवस्था भने कडा पारिएको छ।
आइतबार साँझ ताजिया बिर्सजन र मूर्ति बिसर्जनमा निस्केका दुवै समूहलाई अगाडि जानका लागि बाटोको साइड दिने विषयमा विवाद बढेपछि झडप भएको थियो। हिन्दू र मुस्लिम धर्मावलम्बीहरुबीच भएको झडपले उग्र रुप नलियोस् भन्दै स्थानीय प्रशासनले सोमबार बिहानदेखि कर्फ्यु लगाएको थियो।
स्थितिलाई सामान्य बनाउका लागि सोमबार नै जिल्ला प्रशासन कार्यालयको पहलमा दुवै पक्षका प्रतिनिध, दलका स्थानीय प्रतिनिधि र नागरिक समाजका अगुवाहरु सम्मलित सर्वपक्षीय बैठक बसेको थियो। बैठकमा प्रशासनले छानबिन समिति बनाई घटनाको छानबिन गर्ने र समितिको प्रतिवदेनका आधारमा दोषी देखिएकालाई कारबाही गर्ने सहमति भएको थियो। यस्तै, झडपमा घाइते भएका ११ जनालाई सरकारले उपचार गर्ने निर्णय भएको थियो।
बैठकले कर्फ्यु हटेपछि स्थिति सामान्य भएमा सामाजिक सद्भाव कायम गर्न सर्वपक्षीय सद्भाव र्याली आयोजना गर्ने निर्णय पनि गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।