काठमाडौं- बलिउडका तीन कलाकार बोमन इरानी, अनुपम खेर र परिणिती चोपडा नेपाल आउने भएका छन्। सुरज बर्जत्यको आगामी फिल्म ‘उचाई’को छायांकनका लागि आगामी अक्टोबरमा कलाकारहरुसहित फिल्मको निर्माण टोली नेपाल आउन लागेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।
अमिताभ बच्चनको मुख्य भूमिका रहेको उक्त फिल्म भारतसँगै नेपालमा पनि छायांकन हुँदै छ। फिल्मको निर्माण टोली ४० देखि ४५ दिनको सुटिङ नेपालमा गर्ने गरी आउन लागेको हो। बच्चन भने आफ्नो स्वास्थ्य अवस्थाका कारण नेपाल नआउने भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। फिल्म चिसो ठाउँमा छायांकन हुने भएकाले दमका रोगी बच्चन नेपाल आउन नसक्ने भएका छन्।
मित्रताको विषयमा आधारित रहेको फिल्मको अमिताभ र सुरजले सँगै काम गरेको पहिलो फिल्म बन्दै छ। आफ्नो सिनेमामा मानवीय संवेदनामाथि गर्ने प्रस्तुतिका कारण चिनिएका बर्जत्यको त्यही किसिमको कथालाई प्रस्तुत गर्ने बताइएको छ।
आउँदो जनवरीसम्म छायांकन काम सकेर फिल्मलाई सन् २०२३ मा प्रदर्शन गरिने निर्माणपक्षले बताएको छ।
फिल्ममा बच्चन, इरानी, खेर, चोपडासहित निना गुप्तालगायत मुख्य भूमिकामा देखिने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।