काठमाडौं– भारतीय सीमा सुरक्षा बल (एसएसबी)का जवानले तुइनको लठ्ठा चुँडाल्दा नेपाली नागरिक दार्चुलाका जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको घटनाका सन्दर्भमा छानबिन गर्न गठित समितिको पुन: म्याद थप्ने तयारी गरिएको छ।
छानबिन समितिका सबै सदस्यहरू काठमाडौंमा उपलब्ध नभएकाले गृह मन्त्रालयले केही दिन म्याद थप्ने तयारी गरेको हो। गृह स्रोतका अनुसार केही दिन थप्ने गृहकार्य भइरहेको छ।
१५ साउनमा तुइनबाट नदी तर्ने क्रममा व्यास गाउँपालिका–२ का ३३ वर्षीय धामी बेपत्ता भएका थिए। प्रत्यक्षदर्शीले भारतीय सुरक्षाकर्मी (एसएसबी)ले तुइनको लठ्ठा चुँडाल्दा धामी महाकालीमा खसेर बेपत्ता भएका बताएका थिए।
उक्त घटनाको छानबिन गर्न १७ साउनमा १० दिनको समय दिएर मन्त्रालयका सह–सचिव जनार्दन गौतमको संयोजकत्वमा समिति गठन गरेको थियो। समितिमा नेपाल प्रहरीका सुदूरपश्चिम प्रमुख नायव महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट सदस्य थिए।
तोकिएको समयमा समितिले प्रतिवेदन तयार गर्न अनुसन्धान नसकेको भन्दै २५ साउनमा एक साता म्याद थपिएको थियो। त्यसपछि भदौ २ र भदौ ९ गते १–१ साताको समय थप गरिएको थियो। थपिएको समय १७ भदौमा सकिँदैछ। सबै सदस्य काठमाडौंमा उपलब्ध नभएकाले केही दिन थप्न थालिएको मन्त्रालय स्रोतले जानकारी दियो ।
समितिले घटनाको स्थलगत निरीक्षण गरिसकेको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।