काठमाडौं- नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले अबको विद्यार्थी आन्दोलनमा समाजवादी कार्यक्रम लिएर आउनुपर्ने बताएका छन्।
अखिल क्रान्तिकारीको २२औं राष्ट्रिय सम्मेलनमा उठाउनुपर्ने शैक्षिक मुद्दाका विषयमा थापाथली इन्जिनियरिङ क्याम्पसमा आयोजित कार्यक्रममा तामाङले युग सुहाउँदो मुद्दा लिएर आउनुपर्ने बताएका हुन्।
‘हाम्रो संविधानको प्रस्तावनामा अबको समाज समाजवाद उन्मुख हुनेछ भन्ने परिकल्पना गरेको छ। त्यसैअनुसार नीति तथा कार्यक्रम बनाएर विद्यार्थी संगठन लाग्नुपर्छ,’ अध्यक्ष तामाङले भने,‘अबको विकास निर्माण भनेको के हो, त्यो विज्ञहरुलाई थाहा छैन। त्यसैले त्यस मुद्दामा विद्यार्थी संगठनले स्पष्ट पार्नुपर्छ।’
कार्यक्रममा अखिल क्रन्तिकारीका पूर्वअध्यक्ष एवं केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले विद्यार्थी संगठनहरु सबै शैक्षिक मुद्दा छाडेको आरोप लगाए। विद्यार्थी संगठनको काम शैक्षिक मुद्दा बोक्ने भए पनि अरु नै मुद्दा बोकेर हिँडेको न्यौपानेको भनाइ थियो।
शिक्षा क्षेत्रका सरोकारवाला व्यक्तिहरुले संविधानमै उल्लेख भएको समाजवाद उन्मुख नीति तथा कार्यक्रम लिएर आउन अखिल क्रान्तिकारीलाई आग्रह गरेका थिए।
अखिल क्रान्तिकारीका उपाध्यक्ष तिलक भण्डारीले युवा जनशक्तिलाई समेट्नेगरी नीति तथा कार्यक्रम लिएर आउने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।