काठमाडौं- ‘मार्भल’का फिल्म प्रशंसकका लागि स्कारलेट जोहानसन र क्रिस इभान नयाँ नाम होइन। ‘एभेन्जर्स’मा सँगै देखिएका यी दुई हलिउड कलाकारले मार्भलका फिल्ममा प्रमुख भूमिका निभाएका छन्। स्कारलेटको ‘ब्ल्याक विडो’को भूमिका र क्रिसको ‘क्याप्टेन अमेरिका’को भूमिका मार्भलका दर्शकमाझ चर्चित अभिनय हुन्।
‘एभेन्जर्स’मा सहकार्य गरेका यी दुईले मार्भलभन्दा बाहिर निस्किएर सँगै फिल्म गर्ने भएका छन्। डेक्स्टर फ्लेट्चरको निर्देशनमा बन्ने ‘घोस्टेड’ नामक फिल्ममा यी दुईले सहकार्य गर्न लागेका हुन्। डेक्स्टर ‘रकेटम्यान’ र ‘बोहिमेन र्यापसोडी’ जस्ता चर्चित फिल्म निर्देशन गरिसकेका निर्देशक हुन्।
सञ्चारमाध्यमका अनुसार क्रिस फिल्ममा अभिनयसँगै फिल्मलाई निर्माण पनि गर्दै छन्। फिल्मको कथावस्तु हालसम्म पूर्णरुपमा सार्वजनिक नगरिए पनि यसलाई सन् १९८४ मा प्रदर्शनमा आएको ‘रोम्यानसिङ द स्टोन’को कथामा आधारित रहेर बन्ने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।