काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को युवा संगठन योङ कम्युनिस्ट लिग (वाइसीएल)को अध्यक्ष सुमन देवकोटालाई बनाउने तयारी गरिएको छ।
नेतृत्वमा हालका उपाध्यक्ष देवकोटा र महासचिव सुवोध शर्पालीवीच प्रतिस्पर्धा चलेपछि पार्टीको स्थायी समिति बैठकमा देवकोटालाई अध्यक्ष बनाउने गरी प्रक्रिया अगाडि बढाउने समझदारी बनेको हो।
पार्टीले अध्यक्षसहित सबै नेतृत्व सर्वसम्मत रुपमा चयन गर्न निर्देशन दिएको थियो। तर, देवकोटा र शर्पालीले दाबेदारी छोड्न नमानेपछि पार्टीले देवकोटालाई अघि सार्ने निर्णय गरेको एक स्थायी समिति सदस्यले बताए।
‘देवकोटाजी हाल उपाध्यक्ष हुनुहुन्छ। शर्पालीजी महासचिव हुनुहुन्छ। दुबैले नेतृत्व छोड्न मान्नु भएन,’ ती स्थायी समिति सदस्यले भने, ‘त्यसपछि पार्टीले उपाध्यक्ष भएका देवकोटालाई अध्यक्ष बनाउने र शेर्पालीलाई उपाध्यक्षमा व्यवस्थापन गरेर भावी अध्यक्ष बनाउने निर्णय गर्यो।’
शेर्पालीलाई देवकोटापछि अध्यक्ष बनाउनेगरी पार्टीले निर्णय गरेको ती स्थायी समिति सदस्यले जानकारी। अध्यक्षको विवाद मिलेपछि उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष लगायतका पदाधिकारीको चयन भने सहज हुने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।